• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौँ : प्रधानमन्त्री


  • खुला नेपाल
  • बुधबार, फाल्गुन ७, २०७६
  • 6.3K
    SHARES

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेका छन्, सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ ।”

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पुयाउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गर्नुभएको छ । विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उहाँले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताउनुभयो । उहाँले यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको बताउनुभयो । संविधान जारी भएपछि आम निर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रुपमा लिएको बताउनुभयो ।

उहाँले अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, सङ्घीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानून र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको प्रष्ट्याउनुभयो । “त्यही आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ, यस अवधिमा सुशासन र विकासका नतिजा आउन थालेका छन्, केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन्, केही अगाडि बढ्दैछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

विसं २००७ को आजलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भको गौरवमय दिनका रुपमा स्मरण गर्दै उहाँले यस दिनको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले देशभित्र र देश बाहिर रहनुभएका आम नेपालीलाई दिवसको अबसरमा शुभकामनासमेत व्यक्त गर्नुभयो ।

उहाँले आजको दिनलाई समाजको राजनीति र शासन प्रणालीमा जहानीय निरङ्कुशता र बरबरताबाट मुक्ति पाएको तथा लामो अन्धकार चिरेर सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा स्मरण गर्नुभयो । वर्तमान समयमा मुलुक गरिबीबाट सम्पन्नतातर्फ, अविकासबाट विकासतर्फ र अव्व्यावस्थाबाट सुव्यावस्थातर्फ अगाडि बढिरहेको राज्यको यस अभियानको विजारोपण ७० वर्ष अघि भएकाले यसबीचको गरिमालाई बचाइराख्नका लागि औपचारिकताबाट माथि उठ्न आम नेपालीलाई आह्वान गर्नुभयो ।

प्रजातन्त्रको हक अधिकार स्थापनाका लागि विगतमा भएको अनवरत सङ्घर्षमा आफूलाई समाहित गर्ने वीरविरङ्गनाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विगतको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासलाई कसैले विर्सन नहुनेमा जोड दिनुभयो । उहाँले थप्नुभयो, “आजको दिनलाई जनताले चाहेको राष्ट्रको समृद्धिका लागि संकल्प गर्ने दिन हो ।”

द्वन्द्व व्यवस्थापनमा नेपालले मौलिक विधि अपनाएर व्यवस्थापन गरेकाले अहिले मुलुक आर्थिक विकास र सामाजिक रुपान्तरणमा अघि बढेको प्रधानमन्त्रीको भनाइ छ । नेपाली समस्या आफैँ हल गर्नसक्ने भनेर पहिचान दिलाएको नेपालले अन्तर्राष्ट्रिय जगत्मा पहिचान विस्तार गरेको र नेपालप्रति विश्वको ध्यानाकर्षण भएको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले मुलुक प्रजातान्त्रिक अधिकारमार्फत देशको गरिमा बढाउने र समृद्धि गर्ने जनताको चाहना सफलतातर्फ अग्रसर भइरहेको छ ।

प्रतिक्रिया