एजेन्सी – इटालीमा नोवेल कोरोना भाइरसको संक्रमणले थप संक्रामक रुप लिँदै गएको छ । युरोपमा सबैभन्दा बढी प्रभावित भएको इटालीमा कोभिड–१९ बाट संक्रमितको संख्या चार सय पुगेको छ ।
थप ८० जनामा नोवेल कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएपछि इटालीमा संक्रमित हुनेको संख्या ४०० पुगेको हो । २४ घण्टाभित्र संक्रमितको संख्या २५ प्रतिशतले बढेको हो ।
युरोपका अरु देशमा पनि नयाँ संक्रमण पुष्टि भएको छ र त्यसको सम्बन्ध इटालीसँग देखिएको छ । इटालीको भ्रमण गरेर फर्किएकाहरुमा संक्रमण देखिएको युरोपका विभिन्न देशले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले बुधबार चीन बाहिर पहिलोपटक तीव्र गतिमा कोरोना भाइरसको संक्रमण बिस्तार भएको बताएको थियो ।
गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्त स्थित वुहानमा पहिलो पटक नोवेल कोरोनाको संक्रमण देखिएको थियो । अहिलेसम्म चीन बाहिर झण्डै ४० देशमा संक्रमण फैलिएको छ ।
इटालीमा अहिलेसम्म कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । इटालीका उत्तरी क्षेत्रमा संक्रमण फैलिएको हो । ती क्षेत्रलाई क्वारेन्टाइनमा राखिएको भए पनि संक्रमण दर बढ्दै गएको छ । ११ वटा बजार क्षेत्र संक्रमणको केन्द्रमा छन् र त्यहाँका ५५ हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको इटालीका स्वास्थ्य अधिकारीले बताएका छन् ।
युरोपका अस्ट्रिया, क्रोएसिया, ग्रीस, नर्वे, स्वीट्जरल्याण्ड, जर्जिया र उत्तरी मेसेडोनियामा पनि संक्रमण फैलिएको छ । यस्तै स्पेन, फ्रान्स र जर्मनीमा थप मानिसमा संक्रमण पुष्टि भएको छ । बेलायतमा अहिलेसम्म १३ जनामा संक्रमण देखिएको छ ।
युरोपबाहिर अल्जेरिया, ब्राजिल र पाकिस्तानमा पनि संक्रमण देखिएको छ । ब्राजिलमा एकजनामा संक्रमण पुष्टि भएसँगै नोवेल कोरोना दक्षिण अमेरिकी क्षेत्रमा पनि पुगेको छ ।
मध्य पूर्वको इरानमा अहिलेसम्म १३९ जनामा संक्रमण पुष्टि भएको छ भने १९ जनाको ज्यान गइसकेको छ । यस्तै दक्षिण कोरियामा अहिलेसम्म १२ सयजनामा संक्रमण भएको छ भने १२ जनाको मृत्यु भइसकेको छ ।
चीनसहित विश्वभर गरेर झण्डै ८० हजार जनामा अहिलेसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
