१. नेपालमा सामाजिक सुरक्षा भत्ताका रूपमा के–कस्ता भत्ताहरू वितरण गरिएको छ ? उल्लेख गर्नुहोस्।
– नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा लिई
तोकिएका नागरिकलाई सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ। यही व्यवस्थाअनुसार सामाजिक सुरक्षा ऐन–२०७५ जारी गरी कार्यान्वयनमा ल्याइएको छ। सामाजिक सुरक्षालाई व्यवस्थित गर्न तर्जुमा गरिएको यस ऐनले नेपालमा हाल मासिक रूपमा वितरण हुँदै आएका देहायका सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ :
१. ज्येष्ठ नागरिक भत्ता, (दलित र एकल महिला ६० वर्ष पूरा र अन्य नागरिक ७० वर्ष पूरा),
२. विपन्न नागरिक भत्ता,
३. अशक्त र असहाय भत्ता,
४. असहाय एकल महिला भत्ता,
५. अपाङ्गता भत्ता,
६. बालपोषण भत्ता, (अति विपन्न, लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष पूरा नगरेका बालबालिका),
७. स्याहार भत्ता, (आफ्नो हेरचाह आफैँ गर्न नसक्ने),
८. लोपोन्मुख जाति भत्ता, (राउटेसहित दस लोपोन्मुख जाति)।
२. नेपालको कर प्रणालीका समस्याहरू के–के हुन् ? लेख्नुहोस्।
– कर नीति, कर कानुन, कर प्रशासन तथा कर संरचनाको एकीकृत रूप कर प्रणाली हो। नेपालको कर प्रणाली यिनै विषयवस्तुमा केन्द्रित छ र समस्या पनि यिनै विषयसँग सम्वन्धित छन्। जसलाई निम्नानुसार लेख्न सकिन्छ
– कर नीति स्थिर तथा अनुमानयोग्य हुन नसक्नु,
– कर कानुन सरल एवम् पारदर्शी हुन नसक्नु,
– कर कानुनको पूर्ण पालना हुन नसक्नु,
– कर प्रशासन जिम्मेवार, जवाफदेही, पारदर्शी, आधुनिक, करदातामैत्री एवम् उच्च मनोबलयुक्त हुन नसक्नु,
– कर प्रशासनसँग सम्बन्धित निकाय जस्तै; भन्सार, आन्तरिक राजस्व तथा राजस्व अनुसन्धान कार्यालयबीच पर्याप्त समन्वय हुन नसक्नु,
– कर चुहावट नियन्त्रण गर्ने कार्य प्रभावकारी हुन नसक्नु,
– नेपाल र भारतबीचको खुला सिमाना व्यवस्थित हुन नसक्नु, जसले गर्दा राजस्व चुहावट निरन्तर बढ्दै जानु,
– राजस्व आयात व्यापारमा आधारित हुनु,
– राजस्वमा प्रत्यक्ष करको अंश कम हुनु,
– मूल्य अभिवृद्धि कर खुद्रा तहसम्म पूर्ण रूपमा कार्यान्वयन हुन नसक्नु,
– करदातामा सहज रूपमा कर तिर्ने प्रवृत्तिको विकास हुन नसक्नु,
– उपभोक्ताहरू कर साक्षर एवम् जागरुक हुन नसक्नु,
– कर परीक्षण एवम् अनुसन्धान कार्य उद्देश्यमूलक हुन नसक्नु,
– राजस्वको सही सदुपयोगको प्रत्याभूति दिन नसक्नु।
३. उपभोक्ताको अधिकारहरू के–के हुन् ? लेख्नुहोस्।
– गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्न तर्जुमा गरिएको उपभोक्ता संरक्षण ऐन–२०७५ ले उपभोक्ताको अधिकारहरूको व्यवस्था गरेको छ। जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
– वस्तु तथा सेवामा सहज पहुँचको अधिकार,
– स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु तथा सेवाको छनोट गर्न पाउने अधिकार,
– वस्तु तथा सेवाको मूल्य, गुणस्तर, परिमाण, शुद्धता आदिबारे सूचित हुने अधिकार,
– उत्पादित वस्तुमा त्यस्तो पदार्थको मात्रा, तत्व वा प्रतिशतको जानकारी पाउने अधिकार,
– हानि–नोक्सानी पुर्याउने वस्तु तथा सेवा बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार,
– अनुचित व्यवसायजन्य क्रियाकलापविरुद्ध उचित कानुनी कारबाही गराउन पाउने अधिकार,
– वस्तु तथा सेवाको प्रयोगबाट भएको हानि–नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकार,
– उपभोक्ताको हक–हित संरक्षण गर्न उपचार पाउने वा सुनुवाइ हुने अधिकार,
उपभोक्ता शिक्षा पाउने अधिकार।
४. राजनीति र प्रशासनलाई मूल्य र तथ्यसँग तुलना गर्ने पनि गरिन्छ। तथ्यमा आधारित मूल्य तय गर्ने अर्थात् तथ्यमा आधारित निर्णय गर्ने प्रक्रियामा प्रशासन कसरी अगाडि बढ्नुपर्दछ ? यसका लागि राजनीति र प्रशासनबीचमा कस्तो सम्बन्ध हुनुपर्दछ ? लेख्नुहोस्।
– राजनीति जनताबाट निर्वाचित संयन्त्र हो भने प्रशासन योग्यतामा आधारित छनोट प्रणालीबाट आएको संयन्त्र हो। राजनीतिले नीति निर्माण गर्दछ, प्रशासनलाई नेतृत्व प्रदान गर्दछ भने प्रशासनले नीति कार्यान्वयन गर्दछ। यी दुई काम राजनीतिले नीति निर्माण र प्रशासनले त्यसको कार्यान्वयन गरी मुलुकमा शान्ति, सुरक्षा, स्थायित्व एवम् सुशासन कायम गर्ने भएकाले यी दुवैलाई मूल्य र तथ्यसँग तुलना गर्ने गरिएको हो।
– प्रशासन मूलतः ऐन–नियम कानुन कार्यान्वयन गर्ने संयन्त्र हो। यसले गर्ने कार्य ऐन नियमअनुरूप हुनुपर्दछ। प्रशासनले गर्ने निर्णय पनि कानुनबमोजिम हुनुपर्दछ। तथ्यमा आधारित निर्णय गर्ने प्रक्रियामा प्रशासन खासगरी देहायबमोजिम अगाडि बढ्नुपर्दछ :
— सूचना एवम् तथ्याङ्क सङ्कलन गरी सोहीअनुरूप निर्णय गर्ने,
— जनहितलाई ध्यानमा राखेर कार्य गर्ने,
— ऐन–नियम कानुनको पूर्ण पालना गर्ने गराउने,
— वास्तविक समस्या एवम् आवश्यकता पहिचान गरी समाधान गर्ने,
— ऐन–नियमले समेट्न नसकेका क्षेत्रमा कार्य गर्दा विवेकको न्यायिक प्रयोग गर्ने,
— राजनीतिलाई नीति निर्माणमा सहयोग गर्ने,
— राजनीतिप्रति तटस्थ रहने,
— सरकारका कार्यक्रमप्रति प्रतिबद्ध हुने,
— पेसागत मूल्य–मान्यता एवम् पदीय आचरणको पालना गर्ने,
यी र यस्तै गरी प्रशासन अगाडि बढ्नुपर्दछ। यसका लागि राजनीति र प्रशासनबीचमा निम्नानुसार सम्बन्ध हुनुपर्दछ :
— राजनीति नीति निर्माणमा जुट्नुपर्दछ, प्रशासन नीति कार्यान्वयनमा खट्नुपर्दछ।
— नीति तर्जुमा गर्ने कार्यमा प्रशासनले राजनीतिलाई आवश्यक पर्ने सहयोग, सल्लाह, सुझाव, अनुभव, साधन–स्रोत उपलब्ध गराउनुपर्दछ। राजनीतिले प्रशासनलाई विश्वास गर्नुपर्दछ।
— नीति कार्यान्वयन गर्न राजनीतिले प्रशासनलाई असल कार्य वातावरण तयार गरिदिनुपर्दछ।
— राजनीतिले दलगत स्वार्थमा परी नीति निर्माण गर्नुहुँदैन, प्रशासनले व्यक्तिगत स्वार्थमा परी नीति कार्यान्वयन गर्नुहुँदैन। यी दुईबीच असल सम्बन्ध हुनुपर्दछ।
सारमा भन्दा राजनीति र प्रशासन एक रथका दुई पाङ्ग्रा हुन्। जसरी दुई पाङग्राको सहयोग एवम् भूमिका नभई रथ अगाडि बढ्दैन, त्यसैगरी राजनीति र प्रशासनबीच सहयोग, समन्वय एवम् भूमिका नभई देश अगाडि बढ्न सक्दैन। त्यसकारण यी दुईबीच आपसी विश्वास एवम् समझदारी हुनुपर्दछ।
५. नेपालको सन्दर्भमा सामाजिक विकृतिहरूको निराकरणका प्रमुख उपायहरूबारे लेख्नुहोस्।
– सामाजिक विकृति समाज विकासका अवरोध हुन्, सामाजिक रोग हुन्। नेपालमा खासगरी छुवाछूत, दाइजो, लागूपदार्थ दुव्र्यसन, बालश्रम शोषण, चेलीबेटी बेचविखन, भ्रष्टाचार, अन्धविश्वास, देउकी, झुमा, कमैया, छाउपडीजस्ता सामाजिक विकृतिहरू देखिएको पाइन्छ। नेपालमा यस्ता विकृति मूलतः गरिबी र अशिक्षाका कारण भएको पाइन्छ। यसका लागि रोजगारीको सिर्जना तथा शिक्षा र जनचेतनाको विस्तार गरी यिनको निराकरण गर्नुपर्दछ, यसका अरू उपायहरू निम्न छन् :
– लंङ्गिक विभेद एवम् असमानता कम गर्ने,
– महिलामाथि हुने हिंसा घरदेखि नै अन्त्य गर्ने,
– दुर्गम सुगम सबै स्थानमा महिला शिक्षा तथा प्रौढशिक्षामा जोड दिने,
– संविधान, ऐन–नियम, कानुनले महिलालाई दिएका हक अधिकारहरू जानकारी गराउने र तिनको पालना गर्ने, गराउने,
– हिंसापीडित महिलाहरूको उद्धार र पुनःस्थापनाका लागि पर्याप्त स्रोत–साधनको व्यवस्था गर्ने,
– दाइजो, छुवाछूतजस्ता विकृति हटाउन सामाजिक अभियान सञ्चालन गर्ने,
– गरिबोन्मुख आर्थिक, सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने,
– समाज सुधारका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरूबीच समन्वय कायम गर्ने,
कानुनविपरीत कार्य गर्नेलाई कडा कारबाही गर्ने।
६. नेपालमा स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गरी युवाको विदेश पलायन रोक्न के गर्नुपर्ला ?
– युवा देश विकासका मुख्य पात्र र हिस्सेदार दुवै हुन्। युवा सुनिश्चित भविष्य चाहन्छन्। त्यसैगरी, युवाले जीवनोपयोगी शिक्षा, रोजगारीको सुनिश्चितता, भरपर्दो स्वास्थ्य सेवा, उद्यमका लागि पुँजी, स्थायित्व, खेलकुद, मनोरञ्जन र हरेक क्षेत्रमा पद्धतिले काम गर्ने परिपाटी भएको हेर्न चाहन्छन्, हो यही गर्न सकेमा युवाको विदेश पलायन रोक्न सकिन्छ। यसका लागि निम्न उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छ :
– राजनीतिक एवम् नीतिगत स्थायित्व, सुशासन, भ्रष्टाचार निवारणमा जोड दिई मुलुकमा लगानी बढाउने, उद्योग, कलकारखाना विकास विस्तार गरेर पर्याप्त रोजगारीको अवसर सिर्जना गर्ने,
– उच्च तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने, शैक्षिक संस्थाहरूको गुणस्तरमा सुधार गर्ने,
– प्राविधिक शिक्षामा जोड दिई कृषि, पर्यटन, जलविद्युत्, सडक, सिँचाइलगायतका भौतिक विकासका पूर्वाधार निर्माणमा युवा जनशक्ति परिचालन गर्ने,
– सार्वजनिक जीवनका सबै क्षेत्र (सडकदेखि सदनसम्म) सबैमा निष्पक्ष रूपमा स्वचालित काम हुने प्रणालीको विकास गर्ने,
– राजनीति, प्रशासन, उद्योग, व्यापारलगायतका सबै क्षेत्रमा युवा जनशक्तिलाई सहज प्रवेशको वातावरण तयार गर्ने,
– बैङ्क तथा वित्तीय संस्थाहरूबाट युवालाई उद्यमका लागि सहज रूपमा पुँजी उपलब्ध गराउने व्यवस्था गर्ने।
वस्तुगत प्रश्नोत्तर
१. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ?
– आर्थिक वर्ष २०७६/०७७
२. अफगानिस्तानमा भएको राष्ट्रपतिको निर्वाचनमा को विजयी बनेका छन् ?
– असरफ घानी
३. लमजुङ जिल्लास्थित माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति छ ?
– २५ मेगावाट
४. नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) द्वारा १४औँ एनएनआईसीए स्पोर्टस अवार्ड–२०७६ अन्तर्गत वर्षको उत्कृष्ट खेलाडी कसलाई घोषित गरियो ?
– पुरुषतर्फ : विमल अधिकारी (पाराग्लाइडिङ)
– महिलातर्फ : निमा गुरुङ (तेक्वान्दो)
– राजेन्द्र चित्रकारलाई स्पोर्टस् जर्नालिस्ट अवार्ड र खेलपत्रकार प्रज्जल ओलीलाई स्पेसल अवार्डले सम्मानित गरिएको।
५. ‘युनिटी जर्नल’ कुन सुरक्षा निकायद्वारा प्रकाशित जर्नल हो ?
– नेपाली सेना
६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने ‘रोबोट सेवा’को उद्घाटन कहिले गरियो ?
– विक्रम संवत् २०७६ फागुन ८
७. ‘सफल बन्नका लागि होइन, बरु मूल्यवान बन्नका लागि सङ्घर्ष गर’ भन्ने विद्वान् को हुन् ?
– अल्बर्ट आइन्स्टाइन
८. विसं. २०७६ फागुनमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
– चलचित्र बुलबुल
९. काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कार्यको शुभारम्भ कहिलेदेखि गरिएको हो ?
– विसं २०७६ फागुन ५
१०. गण्डकी विश्वविद्यालयको कुलपतिमा कसलाई नियुक्त गरिएको छ ?
– प्रा.डा. गणेशमान गुरुङ
११. राष्ट्र बैङ्कद्वारा प्रकाशित तथ्याङ्कअनुसार २०७६ पुससम्म वाणिज्य बैङ्कका शाखा पुगेको स्थानीय तह कति रहेका छन् ?
– ७४५
१२. राष्ट्र बैङ्क इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २०७६ पुस मसान्तसम्म कति रहेको छ ?
– १६४ (वाणिज्य बैङ्क २७, विकास बैङ्क २४, वित्त कम्पनी २२, लघुवित्ती वित्तीय संस्था ९०, पूर्वाधार विकास बैङ्क १)
१३. सैनिक प्राड सेवा नियमावली–२०७४ अनुसार ‘सैनिक प्राड सेवा’ भन्नाले के बुझिन्छ ?
– नेपाली सेनामा कानुन तथा न्यायसँग सम्बन्धित कार्यसम्पादन गर्न नियुक्त प्राड अधिकृत तथा प्राड पदिकसँग सम्बन्धित सेवा
१४. छैँटौँ विश्व सरकार सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– सन् २०१८ फेब्रुअरी ११–१३, युएई
१५. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’ को स्थापना कहिले गरियो ?
– सन् २०१८ जनवरी २६
– साइबर आक्रमणका घटनाहरूलाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको।
– सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा छ।
१६. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ?
– नेदरल्यान्डको हेग
१७. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्ध कहाँ रहेको छ ?
– काभ्रे
१८. एसियाडको इतिहासमा पहिलोपटक दुई सहरमा आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगिता कुन हो ?
– १८औँ एसियाड (सन् २०१८) (इन्डोनेसियाको जकार्ता र पलेम्वाङ)
१९. विश्वकै अग्लो झोलुङ्गे पुल कहाँ छ ?
– चीन (डुगे पुल)५६५ मिटर अग्लो
२०. नेपालको सबैभन्दा अग्लो पुल कहाँ छ ?
– हालसम्म नेपालको अग्लो पुलका रूपमा पर्वत सदरमुकाम कुश्मा र मुडिकुवा जोड्ने मोदीखोलामाथि निर्मित पुल
२१. सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात कहिलेदेखि गरिएको हो ?
– विसं २०७५ भदौ १८
२२. ‘आफ्नो अन्तरआत्माको आज्ञाअनुसार काम गर्दा कुनै अकल्याण वा अमङ्गल हुँदैन’ भन्ने विचारक को हुन् ?
– लियो टाल्सटाय
२३. नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ?
– भदौ ३
२४. सुमेरु परिषद् (आर्टिक काउन्सिल) का सदस्य राष्ट्र कति छन् ?
– आठ
(अमेरिका, क्यानडा, आइसल्यान्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड, स्वीडेन र रसिया।)
२५. विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ छ ?
– जुम्ला
२६. ‘द मेटाफिजिक्स’ नामक किताबका लेखक को हुन् ?
– अरस्तु
२७. भिक्टोरिया फल्स कुन–कुन देशको सीमामा पर्दछ ?
– जिम्बावे र जाम्बिया
२८. युरोपको बिरामी भनेर कुन देशलाई भनिन्छ ?
– टर्की
२९. यलम्बर कुन वंशका प्रथम राजा थिए ?
– किरात वंश
३०. ट्रहोटे पर्व मुख्य रूपमा कुन जातिले मनाउने गर्छन् ?
– गुरुङ
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
