काठमाडौं – डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुन : नियुक्त भएका छन् । राष्ट्रियसभाको दुई वर्षे कार्यकाल समाप्त भएसँगै मंगलबार पदबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।
मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।
खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीलाई भेट्न मुख्य सचिव लोकदर्शन रेग्मी अस्पतालमै पुगेका थिए । त्यहीँबाट खतिवडाको नियुक्तिको सिफारिस बनेको हो ।
खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए ।
नेकपा सचिवालयले खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभाको मनोनित कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सिफारिस गरेको छ । तर प्रधानमन्त्रीले सो सिफारिस मानेका छैनन् । खतिवडालाई अर्थमन्त्रीबाट रोक्नका लागि मात्र वामेदवलाई व्यापारिक घरानाको स्वार्थमा खडा गरिएको बुझाइ प्रधानमन्त्रीको छ ।
संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
