• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

सपना पुरा गर्ने बेला आयो : नेपाल


  • खुला नेपाल
  • सोमवार, फाल्गुन २६, २०७६
  • 13.8K
    SHARES

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले व्यवस्था परिवर्तनका लागि भूमिका खेलेको राजनीतिक नेतृत्वको परीक्षा चलिरहेको बताउनुभएको छ । आफ्नो पार्टी नेतृत्वको सरकार, पार्टी र पार्टीका सबै नेताहरुको परीक्षा चलिरहेको बताउँदै नेता नेपालले राजनीतिमा श्रेष्ठता हासिल गरेपनि समृद्ध नेपाल सुखी नेपालीको यात्रामा नेताहरु पास हुन बाँकी रहेको बताउनुभएको हो ।

नेकपाले जनतालाई देखाएका सपना पूरा गर्ने चुनौति आएको उल्लेख गर्नुहुँदै नेता नेपालले अब हिजो देखाइएका सपनाहरु पूरा गरेरै छोड्नुपर्ने बताउनुभयो । सोमबार राजधानीमा रौतहट टाइम्स पत्रिकाको २२ औ‌‌ बार्षिक उत्सवलाई सम्बोधनका क्रममा नेकपाका वरिष्ठ नेतासमेत रहनुभएका नेपालले जनताका सपना पुरा गर्ने बेला आएकाे बताउनुभएकाे छ ।  ‘सपना पूरा गर्न सके मात्रै राजनीतिमा श्रेष्ठता हासिल गर्न सकिने र अनि मात्रै समाजवादको यात्रा तय हुनेछ’ उहाँले भन्नुभयाे।

एक अर्को प्रसंगमा पूर्वप्रधानमन्त्री नेपालले विकास निर्माणमा सरकारका निकायहरुबीच नै राम्रो तालमेल नमिलेका कारण समस्या पैदा भएकोमा जोड दिनुभएको छ । ‘वडाको पालिकासँग, पालिकाको प्रदेशसँग तालमेल मिलेको छैन’ नेता नेपालले भने ‘प्रदेशको संघ सरकारसँग तालमेल मिलेको म देख्दिन । यतिसम्मकि केन्द्रका मन्त्रालयबीच पनि विकासमा तालमेल छैन’, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेता नेपालले उज्यालो नेपाल बनाउने अभियानमा सक्रियतापूर्वक नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बधाई दिनुहुँदै सडकको अवस्था सुधार हुँदै गएकोमा सडक विभागका महानिर्देशकलाई पनि धन्यवाद दिनुभयो ।

तर भौतिक मन्त्री वसन्त नेम्वाङलाई भने नेपालले चर्चाभन्दा पनि काममा ध्यान दिन आग्रह गर्नुभएको छ । ‘मन्त्री नेम्वाङले ९ हजार ५ सय खाल्डा पुरे‌ भनेर पनि आफ्नो घर जाने बाटोका खाल्डाहरु पुरानैअवस्थामा रहेको उहाँको भनाइ छ ।

२१ बर्ष पुरा गरी २२ बर्षमा प्रवेश गरेको रौतहट टाइम्सले राम्रो काम गर्ने पत्रकार र राष्ट्रसेवक कर्मचारीलाईसमेत सम्मान गरेको छ । कार्यक्रममा विधुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, सडक विभागका महानिर्देशक केशव शर्मा र राजधानी दैनिकका कार्यकारी सम्पादक सागर पण्डितलाई सम्मान गरिएको थियो । रौतहट टाइम्सले लामो समयदेखि जनपक्षीय पत्रकारीताका माध्यामबाट देश र जनतालाई सूचना दिँदै आइरहेको पत्रिकाका प्रकाशक गोविन्द चौलागाइँले बताउनुभयो ।

प्रतिक्रिया