काठमाडौं – विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबारे छलफल गर्न आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ ।
मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक डाकेका हुन् । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्नेछ ।
कोरोना भाइरसको संक्रमण उच्च भएपछि १५ दिनयता राजनीतिक गतिविधि ठप्प प्रायः छन् ।
राजनीतिक दलका भेला, सभा तथा प्रशिक्षण कार्यक्रम समेत स्थगित भइरहँदा नेकपाले सचिवालय बैठक डाकेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने यो बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन जनस्तरमा चेतनात्मक कार्यक्रम अघि बढाउँन कार्यकर्ता परिचालन गर्नेबारे छलफल गरी आवश्यक निर्यण गरिने बुझिएको छ ।
यसअतिरिक्त कोरोना भाइरसको संक्रमण भित्रन नदिन तथा भित्रिहाले के गर्ने भनेर सरकारले गरेको तयारीका बिषयमा समेत बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
