काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित खतरालाई रोक्न मातहतका स्वास्थ्य निकायहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा विहीबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल गर्नुपर्ने विभिन्न १५ निर्णय गर्दै सम्बन्धित निकायलाई निर्देशन दिएको हो । सरकारको निर्देशन पालना भए / नभएको समेत मन्त्रालयले गर्ने छ ।
आशंकित बिरामीको उपचारपछि घर फर्किँदा बालबालिका, ज्येष्ठ नागरिकमा जोखिम बढ्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन मातहतका निकायहरुलाई निर्देशन दिएको हो । कोरोना (कोभिड–१९) भाइरसको शंका लागेका बिरामीको उपचारमा संलग्न चिकित्सकहरूलाई सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउनु पर्ने मन्त्रालयकोे निर्देशन छ ।
मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई उपचारपछि घर जान नचाहने चिकित्सकका लागि छुट्टै आवासको व्यवस्था गर्नुपर्ने समेत निर्देशन दिएको छ । मन्त्रालयको निर्णयमा भनिएको छ, ‘कोभिड–१९ का शंकास्पद बिरामीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू घर जाँदा घरमा रहेका बृद्धबृद्धा तथा केटाकेटीहरूमा जोखिम बढ्ने भएकाले त्यस्ता स्वास्थ्यकर्मीहरूले चाहेमा सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउनुपर्नेछ ।’ त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई २० हजार स्याम्पल टेस्टका लागि तयारी अवस्थामा राख्ने मन्त्रालयले निर्णय गरेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
