• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सालकमा कोभिड–१९ सँग मिल्ने भाइरस भेटिएको पुष्टि


  • खुला नेपाल
  • शुक्रबार, चैत्र १४, २०७६
  • 34.5K
    SHARES

एजेन्सी – चीनमा तस्करी गरी ल्याइएको सालक (पंगोलियन) मा कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दो जुल्दो भाइरस भेटिएको छ । ठूलो संख्यामा तस्करी हुने सालकमा कोभिड–१९ सँग मिल्ने भाइरस भेटिएको हो ।

वैज्ञानिकहरुले भविष्यमा कोरोना भाइरस जस्तो महामारीलाई रोक्ने हो भने जंगली जनावरको बजारमाथि प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन् । सालक एक स्तनधारी जीव हो । यसको मासु खान तथा खबेटाहरु परम्परागत औषधी बनाउन सबैभन्दा बढी तस्करी हुने गर्दछ ।

कोरोना भाइरसको मूल स्रोत चमेरा भएको हुन सक्ने अनुमान थियो । जसबाट अन्य कुनै जीवको माध्यम हुँदै कोरोना भाइरस मान्छेमा फैलिएको अनुमान गरिएको थियो ।

नेचर जर्नलमा प्रकाशित एक शोधमा शोधकर्ताहरुले यस्ता जनावरको खरिद बिक्रीमा कडाइ गर्न आवश्यक रहेको बताएका छन् । यदि त्यसो नगरिए भविष्यमा थप खतरा निम्तन सक्ने उनीहरुले चेतावनी दिएका छन् ।

शोधकर्ताहरुका अनुसार चीन र दक्षिण एसियाली देशको जंगलमा पाइने सालक (पंगोलियन) माथि थप निगरानी राख्न जरुरत छ । किन भने कोरोना भाइरस फैलिनमा सालकको भूमिका तथा भविष्यमा मान्छेमा त्यसको संक्रमणको खतराका बारेमा थप जानकारी लिन सकियोस् ।

कमिला खाने यो स्तनधारी जीव संसारमा सबैभन्दा बढी तस्करी हुने गरेको छ । जसका कारण यो लोपोन्मुख अवस्थामा पनि पुगेको छ । यसको मासुलाई केही मानिसहरुले निकै स्वादिष्ट मान्ने गरेका छन् । चीनमा यसको खबेटा परम्परागत औषधी बनाउन प्रयोग गर्ने गरिएको छ ।

औषत पाँच मिनेटमा एक सालकको हत्या हुने गरेको तथ्यांकले देखाएको छ । पछिल्लो एक दशकमा करिब १० लाख सालक मारिएको अनुमान छ ।

कोरोना भाइरस सम्बन्धी थप समाचार  

प्रतिक्रिया