• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

जे पनि खाने, महामारी बढाउने ?


  • श्याम भण्डारी
  • आइतवार, चैत्र १६, २०७६
  • 24.4K
    SHARES

मान्छेको खानपिन शैलीले पटकपटक विश्व आक्रान्त पारेको छ । सर्वभक्षी खानपिनका कारण थुप्रै रोगहरु आएका छन् । सन् २०१९ को अन्तिममा चीनदेखि सुरु भएको कोरोना समूहको नयाँ भाइरस कोभिड–१९ पनि खानपिनकै कारण यति बेला विश्वलाई नै त्रसित बनाइरहेको छ ।

यो लेख तयार पार्दा (२७ मार्च २०२०) सम्म करिब ५ लाख ५० हजारमा कोरोना संक्रमण देखिएको छ भने झण्डै २५ हजारले ज्यान गुमाइसकेका छन् ।

केही समयअघि सार्स र मर्स, स्वाइन फ्लु, बर्ड फ्लु, इबोला र जिका भाइरसले विश्वमा तहल्का मच्चाएको थियो । फेरि चीनमा अर्को हान्टा नाम गरेको भाइरस देखिएको छ । डेँगी, मलेरिया, हैजा, इन्सेफ्लाइटिसलगायत रोगले बर्सेनि हजारौं मान्छे मरिरहेका छन् ।

सार्स, मर्स र कोभिड–१९ चमेरो र सर्पबाट मान्छेमा सरेको अनुमान छ । स्वाइन फ्लुचाहिँ सुँगुरबाट, बर्ड फ्लु चरा र कुखुराबाट, इबोला जंगली पशुपंक्षीबाट, हान्टा र प्लेग मुसाबाट अनि एड्स बाँदर तथा चिम्पान्जीबाट मान्छेमा सरेको हो । त्यस्तै डेँगी, मलेरिया, इन्सेफ्लाइटिस र जिका लामखुट्टेबाट तथा हैजा झिंगाबाट मान्छेमा सर्ने गर्छ । यी सबै रोग हाम्रा परिवर्तित जीवनशैलीले गर्दा नै मान्छेमा सरेका हुन् ।

मान्छेले जे पनि खाने, नपकाई काँचै वा आधा काँचो खाने र आर्थिक लाभका लागि यिनीहरुको विश्वव्यापी व्यापारीकरण गर्नाले आज पशुपंक्षीमा रहेका भाइरस मान्छेमा सरेका छन् । घरपालुवा जनावरहरु जस्तै कुकुर, बिरालो, मुसालगायत जनावर पाल्ने र बेडरुम, भान्सामा निर्वाध आवतजावत गर्न दिने अनि पाल्तु जनावरसँग मुख जोड्ने, चुमाचाटी गर्ने शहरिया आधुनिक संस्कारका कारण पनि विभिन्न रोगका जोखिम बढ्दै गएको छ ।

त्यसकारण अब मान्छेको जीवनशैली र मांसाहार खानपिनको छनौटलाई विशेष गरेर उच्च जोखिम भएका खानेकुराको सन्दर्भमा नीतिगतरुपमै नियन्त्रण गर्नुपर्ने यी घटना तथा अनुभवले देखाउँछन् । उसले के खान हुने, के नहुने र कसरी खाने, कुन मापदण्ड अपनाउने यसलाई अध्ययन अनुसन्धान गरेर नीतिगत नियन्त्रण गर्न जरुरी
देखिएको छ ।

यसमा संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र विश्व खाद्य संगठनले पहल गर्न जरुरी छ । अन्यथा आज कोरोनाको खोप वा औषधि बन्ला र यसको उपचार होला तर फेरि यो रोग र यस्तै किसिमका आइरहनेछन्, मान्छे मरिरहनेछन् । कसैको खानपिनको असावधानीले गर्दा मानव जगत्कै अस्तित्व संकटमा पर्न सक्ने खतराप्रति हामी सबै संवेदनशील हुन आवश्यक छ । त्यसकारण, हामीले व्यवहार परिवर्तनमार्फत आफ्नो जीवनशैलीमा पनि सकारात्मक परिवर्तन गर्नुपर्छ भने नीतिगत नियन्त्रण पनि जरुरी छ ।

हिन्दु जीवनशैली अपनाउनु लाभदायक

वेदहरुले धर्मभन्दा पनि जीवनशैलीका बारेमा व्याख्या गर्छन् र हिन्दुत्वलाई धर्मभन्दा पनि जीवनशैली मानिएको छ । वेदहरुमा सादा जीवनशैली र सात्विक भोजन अपनाउनुुपर्छ भनेर उल्लेख गरिएको छ । मांसाहार राक्षसी भोजन हो भनेर भनिएको छ । आधुनिक विज्ञानले पनि यही भन्छ । खानपिनमा विभिन्न जडिबुटीय गुण भएका मरमसला खानाले रोगप्रतिरोधात्मक क्षमता बढ्छ भन्ने कुरा आइरहेका छन् जुन परम्परागत हिन्दु जीवनशैलीमा भान्साका अभिन्न अंगहरु हुन् ।

खानामा अदुवा, बेसार, टिमुर, मरिच, ल्वाङसुकमेल, दालचिनी, तेजपात, हिङ, ज्वानो, जिरा, पुदिना, कागतीलगायत समावेश गर्दा विभिन्न रोगबाट बच्न सक्ने भनिएको छ र हालै यसले कोरोनाको संक्रमणका दौरानमा पनि चर्चा पाइरहेको छ । नेपालमा स्वास्थ्य सेवाको दुर्गति र अपर्याप्त सरकारी तयारीका बीच कतै हाम्रो खानपान, प्रकृतिसँगको निकटता र वनजंगलको हावापानीले त संक्रमण सहजै आउन नसकेको हो कि भन्ने आमधारणाको बारेका पनि अनुसन्धान हुन जरुरी छ ।

त्यसैगरी व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने, सात्विक खानपिन, दैनिक नुहाउने, दिसापिसाब गरेर पानीले पखाल्ने र हात सफा गर्ने, लिपपोत गरेर खाने, खानुअगाडि हातमुख धुने, आफैँ पकाएर खाने हिन्दु जीवनशैलीले गर्दा यस्ता भाइरस आउने सम्भावना कमै हुन्छन् ।

ट्वाइलेट पेपर प्रयोग गर्ने र दिनभर फोहोरसँगै टाँसेर हिँड्ने चलन राम्रो हुँदै होइन । त्यस्तै लाश गाड्नुभन्दा जलाउने, जलाएपछि नुहाउने र शुद्धीकरण हुने कुराअहिलेको महामारीको समयमा अत्यन्तै सान्दर्भिक देखिएका छन् । हात मिलाउनु र अंकमाल गर्नुभन्दा दुई हात जोडेर नमस्कार गर्नु वैज्ञानिक रहेछ भन्ने प्रमाणित भएको छ ।

योगाभ्यास र प्रणायाम गर्नाले प्रतिरोधात्मक क्षमता बढाउँछ, रोग लाग्न दिँदैन वा लागेको पनि निको हुन्छ । यसले हाम्रा वेद र त्यसमा आधारित जीवनशैलीको सान्दर्भिकता अरु पुष्टि गर्छ । हिन्दु जीवनशैलीका धेरै कुरामा वैज्ञानिक आधार भएकाले यसलाई सारा विश्वले व्यवहारमा उतार्दा हानी होइन लाभ नै हुन्छ ।

प्रतिक्रिया