• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन : ‘कोरोना विरुद्ध जुट्नोस्, मेसेज के जान्छको पछि नलाग्नुस्’


  • खुला नेपाल
  • आइतवार, चैत्र १६, २०७६
  • 9.9K
    SHARES

काठमाडौं – अघिपछि भन्दा बेग्लै माहोलमा बसेको थियो आइतबार साँझको मन्त्रिपरिषद बैठक । त्यसैपनि कोरोना कहरले मुलुकलाई असजिलो बनाएकै छ । त्यही असजिलो र अप्ठेरोको केन्द्रविन्दुमा बैठक थियो ।

मन्त्रिपरिषद बैठकको संरचना पहिलोचोटी भौतिक दूरी (सोसल डिस्टेन्सिङ) कायम गरी राखिएको थियो । विश्वव्यापी फैलिएको कोरोना भाइरसले नेपालमा पनि आक्रमण गर्न थालेको, बाहिरबाट आएका विभिन्न ५ जनामा संक्रमण देखिएको र थप फैलिने सम्भावना समेत रहेको अवस्थामा सरकारले त्यसबाट बच्न विभिन्न कदमहरु चालिरहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दृढताका साथ कोरोना संक्रमणबाट जोगिन हरसम्भबका प्रयासहरु गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको थियो । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको केही सातामात्र भएपनि ओलीमा उर्जा र इच्छाशक्तिमा भने कमी देखिएको थिएन । यो समस्याका लागि जुध्नु अहिलेको प्रमुख चुनौती भन्दै अहोरात्र खट्नुपर्ने उहाँको विफ्रिंग थियो ।

‘कोरोनाविरुद्ध लडौं । सफल होऔं । मेसेज के जान्छ भन्नेतिर अहिले नलागौं । काम गरौं, प्रधानमन्त्री ओलीले सम्बद्ध मन्त्रीहरुतिर हेरेर पटक पटक यस्तो निर्देशन दिनुभएको क्याबिनेट स्रोतले खुलानेपाललाई बतायो ।

‘तपाईहरु संक्रमण रोक्ने, जनतालाई सहज बनाउने काममा जुट्नुहोस्, त्यसको मेसेजको चिन्ता नगर्नुस्’  ओलीको भनाई थियो । कोरोना विरुद्ध व्यवस्थापनमा विपक्षी कांग्रेसका केही नेता र केही सञ्चारमाध्यमले उठाएको कुरामा सायद प्रधानमन्त्री ओलीको भनाई केन्द्रित थियो ।

लकडाउन थप र राहतका निर्णय

मन्त्रिपरिषद बैठकले यही चैत २५ गते मध्यराति १२ बजेसम्मका लागि लकडाउनको समय थप गर्ने निर्णय गरेको छ । साथै, कोरोना विरुद्ध अभियानमा व्यवस्थापनमा सबै स्थानीय तहलाई परिचालन गर्ने, स्थानीय तह नै पिच्छे कोष खडा गर्ने र र वडाध्यक्षलाई फोकल प्वाइन्ट बनाई बढी जिम्मेवार दिइने र उसकै सिफारिसका आधारमा कोष पीडितको समस्या सम्बोधन गर्ने समेत निर्णय समेत भएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकको सिफारिस अनुसार मन्त्रिपरिषदले म्याद थपको निर्णय गरेको हो ।
एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय भएको छ ।
यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । घरबेटीहरुलाई एकमहिना घर भाडाा लिन आग्रह गर्ने, नीजि स्कुलले एक महिनाको फि मिनाहा गर्नुपर्नेजस्ता राहतका निर्णयहरु समेत भएको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमण, रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय ‘एक्सन टीम’ पनि गठन गरेको छ । सोको नाम ‘कोरोना–१९ क्राइसिस म्यानेजमेन्ट टीम’ भनिएको छ । सरकारले चाल्नुपर्ने कदम, कार्यान्वयनको स्थिति र अहिले बनेका सरकारी संयन्त्रको निर्णय कार्यान्वयनका लागि कोरोना–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर गठन गर्ने निर्णयसमेत सरकारले गरेको डा खतिवडाले जानकारी दिनुभयो ।

सेन्टरको संयोजकमा पनि उपप्रधानमन्त्री पोखरेललाई नै तोकिएको छ । उक्त सेन्टरमा गृहमन्त्री, स्वास्थ्यमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसमेत रहनुहुने छ । उक्त समूह सरकारले जारी गरेका आदेश, सरकारले बनाएका क्वारेन्टाइन र आईसोलेसन अस्पतालको व्यवस्थापन र सरकारले आदेश जारी गरेपछि पालना गराउन चालिएका निर्णय कार्यान्वयन गराउन क्रियाशिल हुनेछ । यस्तै शान्ति सुरक्षा कायम गराउने र सङ्क्रमणलाई नियन्त्रणमा लगेर अनुशासनमा बस्नुपर्ने विषयमा उक्त समितले काम गर्नेछ ।

प्रतिक्रिया