काठमाडौं । वीरगञ्जको रक्सौल सीमापारिको क्वारेण्टाइनमा पुगेका संघीय सांसद प्रदीप यादव फर्केसँगै बिहीबारबाट वीरगञ्जको क्वारेण्टाइनमा बसेका छन् । उनी अघिल्लो दिन आफूखुसी भारततर्फ पुगेर त्यहाँ क्वारेन्टाइनमा रहेका नेपाली र भारतीय नागरिकसित भेटघाट गरेका थिए ।
समाजवादी पार्टीको तर्फबाट पर्सा क्षेत्र नं १ बाट निर्वाचित सांसद अघिल्लो दिन स्थानीय प्रशासनको सुझावलाई बेवास्ता गर्दै पारि गएका हुन् । सीमापारि रक्सौलको हजारी मल उच्च माध्यमिक विद्यालयस्थित क्वारेन्टिनमा २५ जना बसेका छन् । त्यसमध्ये १५ जना नेपाली नागरिक छन् ।
उनले जबर्जस्ती पारि गएको र फर्किएको सूचना पाएपछि गृह मन्त्रालयले क्वारेण्टाइनमा राख्न आदेश दिएको थियो । उक्त आदेशअनुसारै यादवसहित चार जनालाई १४ दिन क्वारेन्टाइनमा राखिएको गृह स्रोतले खुलानेपाललाई जनाएको छ ।
गृहको आदेशलगत्तै जिल्ला प्रशासन कार्यालय पर्साले चारै जनालाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको हो । क्वारेन्टाइनमा खाने बस्ने सुविधा उपलब्ध गराइएको हुन्छ । नेपालतर्फ रहेका भारतीय नागरिकलाई पनि त्यो सुविधा उपलब्ध छ ।
सरकार प्रमुखको तहमा भएको सम्झदारीपछि जो जहाँ छ, त्यही बस्ने अवधारणाअन्तर्गत क्वारेण्टाइन बनाएर राखिएको छ । यस पछाडिको उद्दश्य भनेको कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नु नै हो ।
तर यति महत्वपूर्ण सावधानी अपनाइएको ठाउँमा सांसद यादव दलबलसाहित पुगेका थिए । संक्रमण फैलन सक्ने भन्दै यादवको अटेरीपनाको हिजैबाट चर्को आलोचना भइरहेको थियो ।
सांसद यादवले भिडियो सन्देश बनाएर घरघरमा बस्नुहोस् भन्दै अपिल गरेको पनि देखिन्छ । तर उनी आफैं दलबलसहित डुलिरहेको घटनाले सबैलाई आक्रोशित बनाएको हो ।
उनीसँगै नेपालबाट २ जना पत्रकारसमेत भारतीय क्षेत्रमा पुगेका थिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णकुमार कार्कीले सांंसद यादवलाई भरसक त्यहाँ नजान सुझाव दिएको प्रशासनका एक कर्मचारीले खुलानेपाललाई बताए ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
