• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

कोरोना : साकुरा फुले, हानामी छैन

मन लागेको नखाँदैमा, नघुम्दैमा, केही समय पैसा नकमाउँदैमा खासै फरक पर्दैन । संयमता नअपनाएमा भने प्राण घातक रोगले ज्यानै लान सक्छ


  • संगीता भट्ट
  • सोमवार, बैशाख १, २०७७
  • 22.8K
    SHARES

जापानका फराकिला अनि चिल्ला सडक आसपास रहरै लाग्ने गरी फुलेका यी साकुराहरू अवलोकन गर्नेको भीड पोहोर जस्तो छैन । जाडो सकिएर गर्मीको सुरुवातीसँगै सुरु हुने हानामी ‘साकुरा अवलोकन’ पनि अहिले देख्न पाइएको छैन । प्रकृतिको आनन्द महसुस गर्न सकिने यो बेला मान्छेहरुको मुड भने अर्कै बनाएको छ ।

कारण हो कोभिड–१९ । विश्वमै फैलिएको महामारी कारोना भाइरसको पिरलो जापानमा पनि छ । अध्ययन र कामका सिलसिलामा करिब एक लाख नेपाली रहेको जापानमा दैनिक बढ्दो संक्रमणका कारण बालबालिका, वृद्धवृद्धा, विद्यार्थी साथै कम्पनीमा काम गर्ने जापानका स्वदेशी तथा विदेशी प्रभावित छन् ।

संगीता भट्ट

देश हुँदा विदेशिने रहर बोक्ने हामी, विदेशमा हुँदा स्वदेश फर्कन कति दिन बॉकी छ भन्दै औंला भाचिरहेका हुन्छौ । झन् कोरोनाले त्रास बढाएको बेला आफ्नै घर, गाउँ, समाज, आफन्त बढी खोजिँदो रहेछ ।

तर हर बाध्यतालाई खुसीमा परिणत गरेर दिनहरू ब्यतित गरिरहॅदा कहिलेकाहीँ परिस्थितिले पनि साथ नदिँदो रहेछ । पढ्न र धन कमाउन परदेशिएका कयौं नेपालीलाई अहिले त्यस्तै भइरहेको छ ।

कोभिड–१९ का कारण जापानमा रहेका करिब १ लाख नेपाली, जापानीसहित विभिन्न देशबाट पेसा व्यवसायका लागि जापान बसोबास गर्दै आएकाहरू डरपूर्ण जीवन बिताइरहेका छन् । कोरोनाबाट विशेषत भर्खरै जापान छिरेकाहरू बढी प्रभावित छन् ।

जापान सरकारले ७ वटा प्रिफेक्चरमा गरेका आपतकाल घोषणा र कोरोनाको बढ्दो संक्रमणले गर्दा रोजगारीमा असर परेको छ । आपतकाल घोषणासँगै विद्यालय, इभेन्ट हल, फिल्म हल, क्लबहरू बन्दै छन् ।

हवाईसेवा बन्द हुँदा पर्यटन व्यवसाय, होटल, रेष्टुरेन्ट डान्स बारहरू पनि ठप्प छन् । तर, कम्पनीहरू बन्द नहुॅदा रेल, बस र ट्याक्सी स्टेसनमा मान्छेको चाप देख्न सकिन्छ ।

अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन सरकारले अनुरोध गरे पनि आपतकाल लकडाउनको अवस्था नहुॅदा काम गर्ने कम्पनी, सुपरमार्केट, कम्बिनीहरू खुल्ला छन् । जसले गर्दा भीडभाड भने खासै व्यावस्थापन भएको देखिँदैन ।

मानिसहरू त्रसित हुँदै घर बाहिर निस्कन बाध्य छन् । तर, कम्पनीहरूले पनि उच्च सावधानीसाथ कर्मचारीलाई काममा लगाउँदै आएका छन् । कोरोनालाई मध्यनजर गर्दै एक सिफ्टमा मात्रै चल्ने कतिपय कम्पनी हाललाई कर्मचारी विभाजन गरी रातको समयमा पनि सन्चालित छन् । कोरोना रोकथामका लागि भीडभाड व्यवस्थापन गर्न ब्रेक टाइम पनि छुट्टाछुट्टै बनाइएको छ ।

जापानी बजारमा करिब दुई महिनादेखि माक्स र ट्वाइलेट पेपरको अभाव छ । तर कम्पनीहरूले न्याप्किन पेपर प्रयोग गरेर आफैं माक्स बनाउने गरेका छन् । पसलहरूले पनि मुख्य ढोकामा सेनेटाइजर, अल्कोहल राख्ने गरेका छन् ।

जापानमा कोरोना भाइरसको संक्रमण हालसम्म युरोपियन राष्ट्र र अमेरिकामा भन्दा कम नै देखिएको छ । कम प्रभावित हुनुमा जापानको आफ्नै विशेषताले काम गरेको छ । सभ्य र इमान्दार नागरिकका रुपमा जापानिज चिनिन्छन् । स्वास्थ्यका विषयमा सजग जापानीहरु कोरोनाको रोकथामका लागि आफै पनि सजग छन् ।

निर्देशनको पालनामा जापानीहरू अघिल्लो श्रेणीमा छन् । जसले गर्दा कोरोना छिटोछिटो फैलन पाएको छैन । अघिपछि पनि हात मिलाउने, गला मिलाउने काम उनीहरु हत्तपत्त गर्दैनन् । टाढैबाट अभिवादन यहाँको संस्कार हो, नेपालीको नमस्कार जस्तै ।

कोरोना रोकथामका लागि सरकारले घर बाहिर ननिस्कन आग्रह गर्दै विभिन्न व्यवसाय गर्ने र न्यून आय भएकालाई राहत प्याकेज घोषणा गरेको छ । तर, संक्रमण रोकथामका लागि सरकारको पहलमात्रै पर्याप्त छैन । जसका लागि सर्वसाधारणले आफ्नो इच्छा र चाहनालाई केही समय लगाम लगाउन आवश्यक पर्छ ।

कोरोनाबाट विश्व नै आक्रान्त बनिरहेको बेला केही समय भीडभाडबाट टाढा रहँदैमा, मन लागेको नखाँदैमा, नघुम्दैमा, केही समय पैसा नकमाउँदैमा खासै फरक पर्दैन । संयमता अपनाइएन भने प्राण घातक रोगले ज्यानै लान सक्छ ।

नत्र अहिले ढकमक्कै फूल फुल्ने मौसम । करिब एकदेखि दुई हप्तामात्रै रहरै लाग्ने फुलेका फूल हेर्न, सुगन्ध लिन, अवलोकन गर्न ‘हानामी’ का लागि कसलाई रहर लाग्दैनथ्यो होला र ।

बरु हानामी अर्को वर्ष गरौं, पहिले भाइरस भगाऔं । सतर्कता अपनाऔं । मेरो जन्मभूमि नेपालमा पनि म यही सन्देश दिन चाहन्छु । हामीसँग यो रोगविरुद्ध लड्ने पूर्वाधार पर्याप्त छैनन् । त्यसैले पूर्व सतर्कतामै ध्यान दिऔं ।
हामी अझै सतर्कता अपनाऔं । जोगिऔं ।

पत्रकार भट्ट, हाल जापानको मसुयामा, इयमी बस्नुहुन्छ ।

प्रतिक्रिया