एजेन्सी । श्रीलंका सरकारले कोरोना भाइरसबाट मृत्यु हुने सबैको शव जलाउनु पर्ने नियम लागू गरेको छ ।
कुनै पनि धर्मप्रति आस्था राख्ने समुदाय भए पनि यदि कोरोनाबाट कसैको मृत्यु हुन्छ भने अनिवार्य जलाउनै पर्ने नियम सरकारले लागू गरेको त्यहाँको सरकारी अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
अल्पसंख्यक मुसलमान समुदायको विरोधका बीच पनि श्रीलंकाको सरकारले यस्तो नियम लागू गरेको जनाइएको छ ।
श्रीलंकामा अहिलेसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसमध्ये मृत्यु हुने तीन जना मुसलमान थिए । परिवार तथा समुदायको इच्छा बिनानै मृत्यु भएका तीनै जना मुसलमानहरुको शव समेत जलाइएको छ ।
आइतबार श्रीलंकाका स्वास्थ्य मन्त्री पवित्रा वाणिअराचछीले कोरोना भाइरस वा कुनै पनि संदिग्ध कारण मृत्यु भए सबै शवलाई जलाइने जनाउनु भएको थियो ।
यद्यपि, विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसबाट संक्रमित कुनै पनि बिरामीको शव जलाएर वा गाँडेर अन्त्येष्टी गर्न सकिने जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
