काठमाडौं । कञ्चनपुरमा सडकमा भेटिएका दुई जना बालकको उद्धार गरिएको छ ।
महेन्द्रनगरमा सडक पेटीमा भेटिएका अन्दाजी ११ वर्षीय र १० वर्षीय दुई बालकलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदले उद्धार गरेको हो ।
गत शुक्रबार उद्धार गरिएका दुवै बालकलाई महेन्द्रनगरस्थित अमर बालगृहमा व्यवस्थापन पनि गरिएको परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिनु भयो ।
‘लकडाउनका बेला दुई अनाथ बालक सडकमा बेवारिसे अवस्थामा भेटिए’ भन्ने समाचार विभिन्न समाचार माध्यामले प्रकाशित गरेलगत्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले तत्काल उद्धार गर्न परिषदलाई निर्देशन दिनु भएको थियो । मन्त्री गुरुङको निर्देशन र स्थानीय प्रशासनको सहयोगमा दुवै बालकको उद्धार गरी व्यवस्थापन गरिएको परिषदले जनाएको छ ।
बजार क्षेत्रबाट उद्धार गरिएका दुवै बालकलाई उनीहरुको मनोविज्ञान र चाहना अनुसार शिक्षादिक्षाको पनि आवश्यक व्यवस्था मिलाइने अमर बाल गृहका संचालक उत्तर टमाटाले बताउनु भयो । उद्धार गरिएका दुवैको अभिभावक नभएको बताइएको छ । लकडाउनले मुलुक ठप्प भइरहेका बेला राष्ट्रिय बाल अधिकार परिषदले यस अघि काठमाडौंको विभिन्न स्थानबाट पनि ५ जना बालकको सडकबाट उद्धार गरेको थियो ।
यसैबीच, मन्त्री गुरुङले सडकमा अलपत्र परेका कुनै पनि बालबालिका भेटिए स्थानीय प्रहरी वा बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाईन सेवा १०४ मा तत्काल जानकारी गराउन पनि सबैलाई अपिल गर्नुभएको छ । सरकारले सडक मुक्त बालबालिका बनाउने अभियानलाई तीव्रता दिएको र चालू आर्थिक वर्षको हालसम्म ३ सय ९८ जना बालबालिकाको सडकबाट उद्धार गरिएको पनि राष्ट्रिय बाल अधिकार परिषदका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनु भयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
