पृथ्वीमा प्राणीको उत्पत्ति भएसँगै वनस्पति प्राणी, जीवाणु (Bacteria) र विषाणु (Virus) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्षअघि जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पारिस्थितिकीय प्रणालीलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान एवं संयोजनकारी भूमिका रहेको हुन्छ ।
वनस्पति, प्राणी, जीवाणु र विषाणुबीचको सन्तुलन बिग्रियो भने जीवाणु र विषाणुले कुनै पनि बेला र कुनै पनि रुपमा प्राणीमाथि आक्रमण गर्न सक्छन् । आजसम्मका विश्व इतिहासमा विभिन्न कालखण्डमा देखा परेका महामारीदेखि कोभिड–१९ सम्म यसैका उदाहरण हुन् । सबैजसो जीवाणु, विषाणु र परजीवीहरुले रोग लगाउँदैनन्, कतिपय मानव जातिका लागि फइदाजनक पनि हुन्छन् । कतिपयले विभिन्न खालका रोग लगाउँछन् । तिनै रोग लगाउने नयाँ र पुराना जीवाणु वा विषाणुहरुले कहिलेकाही महामारीको रुप पनि लिन्छन् । (डा. झलक गौतम) कोभिड–१९ महामारी यसैको पछिल्लो कडी हो ।
प्रागैतिहासिक कालदेखि आधुनिक कालसम्म अनेक प्रकारका रोग–व्याधिका कारण महामारीका घटना घटेका छन् । आदिमकालदेखि आधुनिक युगसम्म घटेका केही ऐतिहासिक महामारीको यसमा संक्षिप्त चर्चा गरिएको छ–
१. प्रागैतिहासिक महामारी– र्इसापूर्व ३००० (Prehistoric Pandemic : 3000 B.C) करिब ५००० वर्षपहिले दक्षिणी चीनको ुहेमिन् मंघा र मियाओजिगोयुु भनिने पुरातात्त्विक महत्वका क्षेत्रमा फैलिएको महामारीले समस्त बस्तीलाई नै ध्वस्त बनाएको थियो । उक्त महामारीमा सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण मानिसको मृत्यु हुन गई उक्त बस्तीलाई एउट चिहानमा परिणत गरिदिएको थियो । चीनको सो क्षेत्र आज विश्वसम्पदा क्षेत्रमा सूचीकृत भएको छ ।
२. एथेन्सको प्लेग– (Plague of Athens : 430 B.C) ४३० र्इसापूर्व एथेन्समा ज्वरोको महामारी फैलिएको थियो । ५ वर्षसम्म फैलिएको यो महामारीबाट एक लाख मानिसको मृत्यु भएको थियो । एथेन्स र स्पार्टाबीच भएको लडाइँमा स्पार्टाका सेनाले एथेन्सका सेनाहरुलाई आफ्नो शहरको रक्षाका लागि ‘लामो पर्खाल’ भनिने किल्लाहरुको पछाडि शरण लिन बाध्य पारेको थियो । युद्धका कारण सेनाको बढ्दो भीडले महामारी फैलिएको थियो । महामारीले कमजोर भएको एथेन्स स्पार्टासँग पराजित हुन पुग्यो ।
३. एन्टोनाइन प्लेग– ईस्वी सन् १६५–१८० (Antonine Plague :165-180 A.D) विश्व इतिहासमा अभिलिखित एन्टोनाइन प्लेग ईस्वी सन् १६५ देखि १८० को बीचमा फैलिएको महाविनाशकारी महामारी थियो । रोमन साम्राज्य शक्तिशाली भएको समयमा ‘पार्थिया’ सँगको युद्धबाट फर्किएका रोमन सेनाबाट यो महामारी रोमन साम्राज्यमा फैलिएको थियो । यस महामारीबाट रोमन साम्राज्यलगायत एसिया, ग्रिस, इटालीसमेत गम्भीर रुपमा प्रभावित भएका थिए । यस महामारीबाट ५० लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । यस महामारीले रोमन साम्राज्यलाई कमजोर बनाएको थियो ।
४. साइप्रियन प्लेग– ईस्वी सन् २५०–२७१ (Plague of Cyprian :250-271 A.D) ईस्वी सन् २५०–२७१ सम्म फैलिएको साइप्रियन प्लेग महामारीले युरोपमा आतङ्क मच्चाएको थियो । यस महामारीमा रोम शहरमा मात्र प्रत्येकमा ५ हजार मानिसको मृत्यु भएको थियो । यो महामारीपछि मानिसको अभावमा खाद्यान्न उत्पादनमा कमी हुन गई रोमन साम्राज्यमा भोगमारीको स्थिति उत्पन्न भएको थियो । यो महामारीलाई टियुनिसियाको कार्थग शहरका पादरी सेन्ट साइप्रियनले ‘संसारको अन्त्यको संकेत’ को रुपमा व्याख्या गरेका थिए । यसैले यो महामारीको नाम सेन्ट साइप्रियनको नामबाट साइप्रियन प्लेग रहन गएको हो ।
५. जस्टिनियन प्लेग– ईस्वी सन् ५४१–५४२ (Plague of Justinian : 541-542 A.D) ईस्वी सन् ५४१ देखि ५४२ सम्म फैलिएको यो महामारीबाट एसिया, उत्तर अफ्रिका, अरेबिया र युरोपसम्म गम्भीर रुपले प्रभावित भएको थियो । बेन्जाटाइन साम्राज्यका सम्राट बेन्जाटाइनको शासनकाल ‘ईस्वी सन् ५२७(५६५’ मा बेन्जाटाइन साम्राज्य मध्यपूर्वदेखि पश्चिम युरोपसम्म फैलिएको थियो । सम्राट जस्टिनियनले साम्राज्यको राजधानीको रुपमा रहेको कन्सटान्टिनोपल (हालको स्तानबुल) मा एउटा ठूलो ‘हगिया सोफिया’ (पवित्र ज्ञान) नामक गिर्जाघर निर्माण गर्नुभएको थियो । बेन्जाटाइन साम्राज्यको राजधानीबाट फैलिएको यो महामारीबाट विश्वको १० प्रतिशत जनसंख्य घट्न गई ५ करोड मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
६. कालो मृत्यु – ईस्वी सन् १३४६–१३५३ (The black death:1346-1353 A.D) ईस्वी सन् १३४७ देखि १३५१ सम्म फैलिएको ब्युवोनिक प्लेगलाई कालो मृत्यु (Black death) को नामले चिनिन्छ । यर्सिनिया पेस्टिस जीवाणुका कारण फैलिएको यो महामारी मुसाबाट उत्पत्ति भर्इ झिङ्गाको माध्यामबाट मानिसमा संक्रमण भएको थियो । यो महामारी एसियाबाट सुरु भर्इ युरोपलगायत संसारभर फैलिएको थियो ।
ईस्वी सन् १३४७ को अक्टुवर महिनामा इटालीको सिसिलीस्थित मेसिना बन्दरगाहमा व्ल्याक सी हुँदै १२ वटा पानीजहाज आएर रोकिए । ती रोकिएका जहाजभित्र हेर्दा बीभत्स दृश्य देखियो । जहाजमा रहेका धरैजसो यात्रुको मृत्यु भइसकेको थियो भने मृत्युको अन्तिम अवस्थामा पुगेका जीवित यात्रुहरु रगत र पिपले बनेको कालो फिँजले पुरिएका थिए । ती जहाजमा रहेका मुसाहरु शहर पसेपछि फैलिएको महामारीले संसारभरि २० करोड मानिसको मृत्यु भएको थियो । युरोपमा मात्र जनसंख्याको एक तिहाइ अर्थात् २ करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो महामारीपछि युरोपको जनसंख्या पहिलेको अवस्थामा पुग्न २०० वर्ष लागेको थियो । यो महामारीले युरोपको मार्ग परिवर्तन गरेको इतिहासकारहरुको मत रहेको छ ।
यो रोगको उत्पत्ति, रोकथाम र उपचारबारे मानिसहरुलाई थाहा थिएन । रोगी मानिसको नजिक नगएमा रोग सर्दैन भन्ने थाहा भएपछि भेनेसिएनहरुको नियन्त्रणमा रहेको रसुगा शहरले पानीजहाजबाट आउने यात्रुलाई बिरामी नभएको प्रमाणित नभएसम्म यात्रुहरुलाई एकान्तमा ३० दिन (पछि ४० दिन वनाइयो) राख्ने नियम बनाइयो, जसलाई ‘क्वरान्टिनो’ भनिन्थ्यो । हाल प्रचलनमा रहेको क्वारेन्टाइनको पूर्वरुप यही हो ।
७. अमेरिकन प्लेग– सोह्रौ शताब्दी (American Plagues :16 th century) यो महामारी ईस्वी सन् १५११ देखि १५३२ सम्म युरोपेली अन्वेषकहरुबाट अमेरिकी महादेशमा फैलिएको थियो । नाक–कानबाट रगत बग्ने र अधिक ज्वरो आउने लक्षण भएको यो महामारीबाट १ करोड ८० लाखभन्दा बढी मानिसहरुको मृत्यु भएको अनुमान छ । यस महामारीबाट पश्चिम गोलाद्र्धमा रहेका आदिबासीहरुको ९०५ देखि ९५५ सम्म मृत्यु हुनुको साथै ‘एज्टेक सभ्यता’ र ‘इन्का सभ्यतालाई’ विनास गरेको थियो ।
८. कोको लिज्ट्ली महामारी– ईस्वी सन् १५४५–१५४८ (Cocoliztli epidemic: 1545-1548 A.D) साल्मोनेला उपसमूहको एस। प्यारासाइटको संक्रमणबाट मेक्सिकोबाट सुरु भएको यो महामारीबाट संसारभर १ करोड ८० लाख मानिसहरुको मृत्यु भएको अनुमान गरिएको छ ।
९. ग्रेट प्लेग अफ लण्डन– ईस्वी सन् १६६५–१६६६ (Great Plague of London:1565-1566) ईस्वी सन् १६६५ को अप्रिल महिनादेखि १६६६ को सेप्टेम्वर महिनासम्म फैलिएको यो महामारीमा १ लाख मानिसहरुको मृत्यु भएको थियो । यो महामारीबाट लण्डन शहरका १५५ मानिसहरुले ज्यान गुमाएका थिए ।
१०. ग्रेट प्लेग अफ मार्सेल– ईस्वी सन् १७२९–१७२३ (Great Plague of Marseille:1720-1723 A.D) मध्य पूर्वबाट माल–सामान ल्याएर आएको ‘ग्रयाण्ड सेन्ट एन्टोइन’ नामक पानीजहाजबाट निस्केर शहर पशेका संक्रमित मुसाहरुबाट फ्रान्सको मार्सेल शहरबाट फैलिएको यो महामारीबाट मार्सेल शहर र आसपासको क्षेत्रमा १ लाख मानिसहरुको मृत्यु भएको थियो जसमा ३०५ मार्सेल शहरका बासिन्दाहरु थिए ।
११. रसिएन प्लेग– ईस्वी सन् १७७०–१७७२ (Russian Plague :1770-1772 A.D) ईस्वी सन् १७७० देखि १७७२ सम्म रुसको मस्को शहरमा फैलिएको महामारीमा १ लाख मानिसहरुले ज्यान गुमाएका थिए । कारखानाका कारण महामारी फैलिएको भनी सरकारले सवै कारखानालाई मस्को बाहिर सार्ने निर्णय गर्नु परेको थियो ।
१२. स्पेनिश फ्लु– ईस्वी सन् १९१८–१९२० (Spanish flu: 1918-1920 A.D) प्रथम विश्वयुद्ध सकिएलगतै स्पेनिस फ्लुको महामारी फैलिएको थियो । यस महामारीबाट त्यसबेलाको विश्वको जनसंख्याको एक तिहाइ हिस्सा अर्थात ५० करोडभन्दा बढी मानिस संक्रमित हुनुका साथै ५ करोडदेखि १० करोडसम्म मानिसको मृत्यु भएको थियो । यस महामारीबाट भारतमा मात्र जनसंख्याको ६ प्रतिशत अर्थात् १ करोड ८० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो भने चीनमा ४० लाखदेखि ९४ लाखसम्म, इन्डोनेसियामा १५ लाख, इरानमा ९ लाखदेखि २४ लाखसम्म, अमेरिकामा ६ लाख ७५ हजार र जापानमा ४ लाख मानिसहरुको मृत्यु भएको थियो ।
यो महामारीको नाम स्पेनिश फ्लु रहनुमा पनि एक रोचक कथा छ । यो महामारी स्पेनबाट फैलिएर यसको नामकरण स्पेनिश फ्लु रहन गएको होइन । प्रथम विश्व युद्धमा व्रिटेन, फ्रान्स र रसियाको एउट गठबन्धन थियो भने जर्मन, आष्ट्रियां, हंगेरी र इटालीको अर्को गठबन्धन थियो । तर स्पेन भने कुनै गठबन्धनमा सम्मिलित थिएन । स्पेन तटस्थ थियो । प्रथम विश्वयुद्धमा गठबन्धनमा सम्मिलित देशहरुमा प्रेसमा एक प्रकारको प्रतिबन्ध थियो । सेनाको मनोबल गिराउने कुनै सामग्री छापिँदैनथ्यो । सैनिक शिविरबाट सुरु भएको यस महामारीको सत्य–तथ्य समाचार युद्ध सम्मिलित राष्ट्रका सञ्चार माध्यामहरुले सार्वजनिक गर्ने अवस्था थिएन । तर युद्धमा समावेश नभएको तटस्थ स्पेनमा तुलनात्मक रुपमा प्रेस स्वतन्त्रता थियो । त्यसैले स्पेनी संचार माध्यामहरुले यस महामारीबारे सत्य–तथ्य जानकारी सार्वजनिक गरेकाले यस महामारीको नाम स्पेनिश फ्लु रहन गएको हो ।
१३. बिफर– ईस्वी सन् १५२०–१६०० (Small pox: 1520-1600 A.D) ईस्वी सन् १५२० देखि १६०० सम्म युरोप, दक्षिण अमेरिका, एसिया, अरेबियालगायत विश्वमा महामारीको रुपमा फैलिएको बिफरले ५ करोड ६० लाख मानिसको ज्यान गएको थियो भने बचेका मानिसमा विभिन्न दाग रहनुको साथै अपाङ्ग भएका थिए । पश्चिमी गोलाद्र्धको अमेरिका र मेक्सिकोमा ९० देखि ९५ प्रतिशतसम्म आदिवासीहरुको मृत्यु हुनुको साथै इज्टेक र इन्का सभ्यतालाई समाप्त पारेको थियो । यो रोगबाट विभिन्न समयमा नेपालमा पनि धेरै मानिसको मृत्यु हुनुका साथै अपाङ्ग भएका थिए । एस रोगको खोप पत्ता लागेपछि हाल यो रोग उन्मूलन भएको छ ।
१४. हैजा– ईस्वी सन् १८४०–१८६० (Cholera:1840-1860A.D) ईस्वी सन् १८४० देखि १८६० सम्म भारतबाट सुरु भएको हैजाको महामारी एसिया, युरोप, उत्तर अमेरिका, अफ्रिकालगायत सारा विश्वमा फैलिएको हैजाको महामारीबाट १० लाख मानिसको मृत्यु भएको थियो । हैजाको महामारी विश्वको विभिन्न भागमा विभिन्न समयमा फैलिन गई करोडौं मानिसको मृत्यु हुने गरेको छ । हैजा रोगबाट नेपालमा विभिन्न समयमा धैरै मानिसको मृत्यु भएको इतिहास छ । विश्व स्वस्थ्य संगठनका अनुसार यो रोगबाट हरेक वर्ष १३ लाखदेखि ४० लाखसम्म मानिस प्रभावित हुनुका साथै हरेक वर्ष १ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ ।
१५. एचआईभी–एड्स– ईस्वी सन् १९८१–हालसम्म (HIV/AIDS:1918/Present day) पश्चिम अफ्रिकामा चिम्पाञ्जीबाट मानिसमा सरेको यो रोगबाट हालसम्म ३ करोड ५० लाख मानिसको मृत्यु भएको छ भने ७ करोडभन्दा बढी मानिस यस रोगबाट संक्रमित छन् । हालसम्म यसको खोप पत्ता लागेको छैन । हाल यस रोगको रोकथामका लागि एन्टिरेट्रोभाइरल थेरापी ( ART) मार्फत यसको उपचार हुने गरेको छ ।
१६. स्वाइन फ्लु– ईस्वी सन् २००९–२०१० (Swine flu: 2009-2010 AD) मेक्सिकोबाट सुरु भएर संसारभर फैलिएको यो रोगबाट आजसम्म १ लाख ५२ हजारदेखि ५ लाख ७५ हजारसम्म मानिसहरुको मृत्यु भएको अनुमान गरिएको छ । सुँगुरबाट मानिसमा संक्रमण भएको यो रोगको खोप पत्ता लागिसकेको छ ।
१७. पश्चिमि अफ्रिकन इवोला– ईस्वी सन् २०१४–२०१६ (West African Ebola:2014-2016 AD) बाँदरबाट मानिसमा सरेको इवोला भाइरसबाट अफ्रिकी मुलुक गिनीबाट फैलिएको यो महामारीबाट ईस्वी सन् २०१४ देखि २०१६ सम्म युरोप, अफ्रिका र अमेरिकी महादेशमा ११ हजार ३ सय २५ मानिसको मृत्यु भएको थियो ।
१८. एसियन फ्लु– ईस्वी सन् १९५७–१९५८ (Asian flu:1957-1958 AD) कुखुराबाट मानिसमा संक्रमण भई चीनबाट सिङ्गापुर, हङ्गकङ्ग हुँदै विश्वभर फैलिएको यो महामारीबाट ११ लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो जसमध्ये अमेरिकामा मात्र १ लाख १६ हजारको मृत्यु भयो ।
१९. हङ्गकङ्ग फ्लु– ईस्वी सन् १९६८ (Hangkong flu:1968 AD) ईस्वी सन् १९६८ को जुलाई महिनादेखि सेप्टेम्वरसम्म फैलिएको यो महामारी हङ्गकङ्गबाट सुरु भई भियतनाम, सिङ्गापुर र अमेरिकासम्म फैलिएको यो रोगबाट १० लाख मानिसको मृत्यु भएको थियो । यो रोगबाट ४५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्ति र दीर्घरोगीहरु बढी प्रभावित भएका थिए ।
२०. सार्स कोरोना– ईस्वी सन् २००३ (SARS CORONA: 2003 AD) ईस्वी सन् २००३ मा २६ वटा देशमा फैलिएको यो रोगबाट ७ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
२१. मर्स कोरोना– ईस्वी सन् २०१२ (Mers corona:2012AD) ईस्वी सन् २०१२ मा मध्यपूर्वका अफ्रिकी देशहरुमा देखा परेको यो रोगबाट ७ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
२२. जिका भाइरस– ईस्वी सन् २०१५–आजसम्म (Zika virus: 2015-present day) एसिट एजेप्टि नामक लामखुट्टेको टोकाइका कारण जिका भाइरसबाट संक्रमित ब्राजिलबाट फैलिएको यो रोगबाट २४ मुलुकका ४० लाखभन्दा बढी मानिस संक्रमित भई हालसम्म ८५ हजारभन्दा मानिसको मृत्यु भइसकेको छ ।
२३. औलो– प्राचीनकालदेखि आजसम्म (Malaria: form Ancient2 Present day) औलो रोग पृथ्वीमा मानिसको उत्पत्ति भएदेखि नै प्रभावित पार्दै आइरहेको छ । ईस्वी सन् १८८० मा फ्रान्सेली सैन्य चिकित्सक ल्याबेरनले औलोको कारक प्रोटोजोआ प्रजीवी हो भन्ने पत्ता लगाए यसका लागी उहाँलाई सन् १९०७ मा नोभेल पुरुस्कार प्रदान गरियो
प्रोटोजोआ परजीवीबाट संक्रमण हुने औलो रोग एसिया, अफ्रिका र अमेरिकी महादेशको उष्णीय क्षेत्रमा फैलिने यो रोगले प्रत्येक वर्ष करोडौं मानिसलाई प्रभावित पार्नुको साथै प्रत्येक वर्ष १० देखि ३० लाख मानिसको मृत्यु हुने गर्दछ । यो औलो परजीवीलाई एउटा मानिसबाट अर्को मानिसलाई सार्ने काम एनेफिलिसमाउ लामखुट्टेले गर्छ औलो रोगका कारण हालसम्म करोडौं मानिसको मृत्यु भइसकेको छ । औलो रोगको कारण नेपालमा पनि विभिन्न समयमा धेरै मानिसको मृत्यु भएको थियो । अहिले औलो रोग उन्मूलन भए तापनि यो विश्वभर छिटफुट रुपमा देखा पर्ने गरेको छ ।
२४. कोभिड–१९ महामारी– २०१९–आजसम्म (Covid-19 Pandemic:2019-Present day) चीनको हुवेई प्रान्तको वुहान शहरबाट ईस्वी सन् २०१९ को डिसेम्वर महिनाको दोस्रो साताबाट फैलिएको कोभिड–१९ को महामारीले आजसम्म विश्वका २१० देश तथा आश्रित क्षेत्रहरु र २ वटा पानीजहाजमा महामारीको रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले जनवरी ३,२०२० मा कोभिड–१९ लाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकट’ घोषणा गरेको थियो भने मार्च ११,२०२० मा यसलाई महामारीको रुप लिएको घोषणा गरेको थियो ।
चीनको वुहान शहरबाट २०७६ साल पौष २० गते (January 5,2020) नेपाल फर्किएका ३३ वर्षीय नेपाली विद्यार्थीलाई जाच्ने क्रममा २०७६ साल माघ १० गते (January 24,2020) कोभिड–१९ पोजेटिभ भएको पुष्टि भएपछि नेपाल कोभिड–१९ संक्रमित राष्ट्रको रुपमा दर्ज भई कोभिड–१९ को सामना गर्ने क्रममा नेपालाले अन्तर्राष्ट्रिय सीमा बन्द गर्नुको साथै अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गरी २०७६ चैत्र ११ देखि २०७७ वैशाख २५ गतेसम्म लकडाउनको घोषणा गरी नेपालले कोभिड–१९ को सामना गरिरहेको छ ।
कोभिड–१९ महामारीको पछिल्लो ताजा स्थिति हेर्दा विश्वको महाशक्तिको रुपमा रहेको संयुक्त राज्य अमेरिकालगायत विश्वका विकसित एवं शक्तिशाली राष्ट्रहरु कोभिड–१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित भएको देखिन्छ। कोभिड–१९ महामारी नेपालमा अहिलेसम्म नियन्त्रणमै छ । कोभिड–१९ बाट कसैको पनि मृत्यु भएको छैन । तर विदेशमा विभिन्न २२ देशमा रहेका २२३८ नेपालीहरु संक्रमित हुनुको साथै युकेमा ३३, अमेरिकामा १०, युएईमा २, आयरल्याण्ड, जापान र टर्कीमा एक–एक गरी २८ जना नेपालीको निधन भएको दुखद् जानकारी एनआरएनले सार्वजनिक गरेको छ । आफ्नो नागरिकको सुरक्षा गर्नु राज्यको प्रथम दायित्व भएकाले नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार हाम्रो साथ छ भन्ने प्रत्यभूति दिने गरी हरसम्भव प्रयास र पहल गर्नुपर्दछ ।
आज २०७७ साल वैशाख १६ गते (April 28,2020) विश्वमा कुल संक्रमित संख्या ३०,६४,१६१, मृतक संख्या २,११,५३४ (६.९० प्रतिशत), निको भएको संख्या ९,२२,३६९ (३०.१०प्रतिशत), उपचाररत संख्या १९,३०,२५८ (६२.९९ प्रतिशत) मध्ये १८,७३,९५८(६१.१५ प्रतिशत) को अवस्था सामान्य रहेको र ५६,३०० (१.८३ प्रतिशत) को अवस्था गम्भीर रहेको छ । कोभिड–१९ को महामारीबाट सबभन्दा बढी प्रभावित शीर्ष देश देशहरु अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, युके, टर्की, इरान, रसिया र चीनमा कुल संक्रमित संख्या २२,९४,६८४, मृतक संख्या १,७१,९३९(७.४९ प्रतिशत), निको भएको संख्या ६,६९,०८२, (२९.१५ प्रतिशत) र उपचाररत १४,४६,२९० (६३.०२) रहेको छ । दक्षीण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तन, श्रीलङ्का, माल्दिभ्स, नेपाल र भूटानमा कुल संक्रमित संख्या ५० हजारभन्दा माथि रहेको छ । निको भएको संख्या १०,६८० (२०.५९ प्रतिशत) र उपचाररत संख्या ३९,७३७ (७६.६३ प्रतिशत) रहेको छ । सार्क राष्ट्रहरुमा माल्दिभ्स, नेपाल र भूटानमा आजसम्म कसैको कोरोनाका कारण ज्यान गएको छैन ।
२०७७ साल वैशाख १ गते (April 13,2020) Yarsanews.com मा प्रकाशित लेखक स्वयं द्धारा लिखित ‘कोभिड–१९ महामारी– जानकारी र सुझाव’ लेखमा सो दिनको विश्वमा मृत्युदर ६.१६ प्रतिशत, निको भएको २२.८५ प्रतिशत, उपचाररत संख्या ७०.९६ प्रतिशत रहेको तथ्य उल्लेख थियो । त्यसको तुलनामा आजको मृत्यु दर ६.९० प्रतिशत रहेको, निको हुनेको संख्या २२.८५ प्रतिशतबाट वृद्धि भई ३०.१० प्रतिशत पुगेको, उपचाररतको संख्या ७०.९६ प्रतिशतबाट ७.९७ प्रतिशत घटेर ६२.९९ प्रतिशतमा झरेको देखिन्छ । मृत्युदर ६.१६ प्रतिशतबाट वृद्धि भर्इ ६.९० प्रतिशत पुग्दा मृत्युदरमा ०.७४ प्रतिशत वृद्धि भएको, निको भएको २२.८५ प्रतिशत बाट ७.३५ प्रतिशत वृद्धि भई ३०.१० प्रतिशत पुगेको र उपचाररतको संख्या ७०.९६ प्रतिशतबाट ७.९७ प्रतिशत घटी ६२.९९ प्रतिशतमा झरेको देखिन्छ । यो दुई हप्ताको अवधिमा मृत्युदरमा ०.७४ प्रतिशतले सामान्य वृद्धि भएको भए तापनि निको भएको प्रतिशतमा ७.३५ प्रतिशत वृद्धि भई ३०.१० प्रतिशत पुगेको र उपचाररतको संख्यामा ७.९७ प्रतिशत घटी ६२.९९ प्रतिशतमा घट्नुले यसलाई कोभिड–१९ को महामारीमा देखा परेको सकारात्मक संकेतको रुपमा लिन सकिन्छ ।
विश्वमा हालसम्म भएका प्रमुख महामारीहरुको संक्षिप्त विवरण, कोभिड–१९ महामारीबाट विभिन्न उमेर समूह एवं दीर्घरोगीहरुको हुन सक्ने मृत्युदर र कोभिड–१९ को तुलनामा अन्य प्रमुख भाइरसका कारण हुने मृत्युदरको तुलनात्मक विवरण तलको तालिकाहरुबाट स्पष्ट हुन्छ–




*नोट– २०७७।०१।१६ (March28,2020) को ताजा स्थिति
माथिका तालिकाहरुबाट कोभिड–१९ को महामारीको औसत मृत्युदर ४.८२ प्रतिशतभन्दा बढी हुने देखिँदैन । विश्व इतिहासमा विभिन्न भाइसरका कारण भएका महामारीहरुको मृत्यु दर कोभिड–१९ भन्दा बढी नै रहेको माथिका तालिकाबाट प्रष्ट हुन्छ ।
पृथ्वीको उत्पत्ति भएको करोडौं वर्षपछि पृथ्वीमा जल, वनस्पति र प्राणीको उत्पत्ति भएको हो । पृथ्वीमा मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पृथ्वीमा वनस्पति, प्राणी, जीवाणु र विषाणुको उत्पत्ति भएपछि वनस्पति, प्राणी, जीवाणु, विषाणु, जल र जमिनबीचको अन्तरसम्वन्ध र संयोजनबाट एउटा सन्तुलित पारिस्थितिकीय प्रणाली निर्माण भयो, जसलाई हामी जैविक विविधता भन्ने गर्दछौं । अर्को शव्दमा भन्दा वनस्पति र प्राणीबीचको भिन्नता, किसिम एवं अन्तरसम्वन्धलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले जल, स्थल, समुन्द्र तथा सिमसारमा रहेका सबै वनस्पति र प्राणीबीच पाइने फरकपन, प्रकार तथा तिनीहरु वीचको अन्तरसम्वन्ध एवं संयोजनलाई जनाउँछ । जैविक विविधता वीचको अन्तरसम्वन्ध एवं संयोजन विग्रियो भने पारिस्थितिकीय प्राणालीमा असन्तुलन पैदा भई अनेक प्रकारका रोग–व्याधिका कारण अनेक महामारीहरु हुने गर्दछ ।
समस्त मानव जाति एवं विशेषत विकसित राष्ट्रहरुले प्रकृतिमाथि अतिक्रमण गर्दै भू–आधारित वातावरणको तीन चौथाइ र समुन्द्री वातावरणको ६६ प्रतिशत परिवर्तन गरेको छ भने विश्वको भू–सतहको एक तिहाइ र ताजा पानीको स्रोतको ७५ प्रतिशत कृषि, उद्योग र पशुपालनतर्फ परिवर्तन गर्नुको साथै वन फँडानी, अत्यधिक माछा मार्नु, अवैध वन्यजन्तुको व्यापार, जनसंख्या वृद्धि र प्रदूषणले पृथ्वीमा रहेका मानिसबाहेकका वनस्पति र प्रणीको वासस्थान विनाश हुन गई मानव जातिका अगाडि जलवायु परिवर्तनको गम्भीर चुनौती खडा भएको छ ।
कोभिड–१९ को महामारीमा मानिसबाहेक पृथ्वीमा रहेका अन्य वनस्पति र प्राणी प्रभावित नहुनुले पारिस्थितिकीय प्रणाली बिगार्ने मानिसविरुद्ध यो प्रकृतिको आक्रोश हो भनेर वुझ्न गाह्रो पर्दैन । कोभिड–१९ को महामारीमा संसारका विकसित राष्ट्रहरु सबैभन्दा बढी प्रभावित हुनुले पनि यो महामारी पारिस्थितिकीय प्रणाली बिगार्नेविरुद्धको प्रकृतिको आक्रोशको संकेतको रुपमा वुझ्न सकिन्छ । भविष्यमा कोभिड–१९ को महामारीभन्दा उच्च स्तरको महामारी फैलियो भने मानव जातिले अहिलेसम्म प्राप्त गरेको ज्ञान, विकास गरेको विज्ञान एवं प्रविधि र शक्ति राष्ट्रहरुले उत्पादन एवं भण्डारण गरेको हातहतियारले मानव जातिको भविष्यलाई सुरक्षित गर्न सक्छ त भन्ने खडा भएको छ ।
एकातिर उद्योगधन्दाको विकासको नाममा वातावरण प्रदूषणले निम्त्याएको जलवायु परिवर्तनको गम्भीर चुनौत िखडा हुनुको साथै साधन, स्रोत र अवसरहरु सीमित व्यक्ति वा केही ठूला ‘घरनाहरु’ मा केन्द्रिकृत हुनु, अर्कोतर्फ मानवीय आवश्यकता परिपूर्ति गर्नुको सट्टा शक्ति राष्ट्रहरु विनाशकारी आणविक हातहतियारहरु उत्पादन एवं भण्डारण गर्न र वातावरण प्रदूषित गर्न उद्वेत हुनुले समग्र मानवीय र पारिस्थितिक वातावरण प्रदूषित एवं असन्तुलित हुन गई वनस्पति र प्राणीका लाखौं प्रजातिहरु लोप हुन गएका र लाखौं प्रजाति लोपोन्मुख अवस्थामा पुगी पृथ्वीमा रहेका वनस्पति र प्राणीबीचको अन्तरसम्वन्ध र संयोजन खलबलिन गई पारिस्थितिकीय प्रणालीमा असन्तुलन उत्पन्न हुँदासम्म पनि मानव जाति र शक्ति राष्ट्रहरुको चेत नखुलेपछि प्रकृतिको चेतावनीको रुपमा कोभिड–१९ महामारीको रुपमा प्रकट भएको छ ।
अब हामी के गर्छौ, मानव जातिले के गर्नुपर्छ, शक्ति राष्ट्रलगायत सबै राष्ट्रहरुको आगामी कदम के हुनु पर्छ, अहिले सबैको चासो र चिन्ताको विषय यो नै हो । वनस्पति र प्राणीको उद्भव र विकासको इतिहास हेर्दा पृथ्वी वनस्पति र प्राणीको साझा थलो हो । यसैले पृथ्वीमा सबै वनस्पति र प्राणी बाच्न सक्ने वातावरण निर्माण गर्नुपर्छ । यसका लागि प्रकृतिमाथि भएको अतिक्रमण बन्द गरेर पृथ्वीमा सबै वनस्पति र प्राणी बाच्न सक्ने वातावरण निर्माणका लागि पारिस्थितिकीय प्राणाली पुनर्स्थापित गर्नुपर्दछ ।
मानव जातिको सुरक्षित भविष्यका लागि विकासको वर्तमान मोडेललाई पुनरावलोकन एवं परिमार्जन गरी सामाजिक न्यायमा आधारित मानव केन्द्रित एवं पर्यावरणमैत्री विकासको नयाँ मोडेलबारे चिन्तन मनन् र कार्यान्वयन गर्दै अघि बढ्नुको विकल्प छैन । पृथ्वीमा मानिसमात्र होइन अरु प्राणी पनि छन् भन्ने हेक्का राख्नु पर्दछ । पृथ्वीमा सबै प्राणीको बाच्ने वातावरण बनाएमा मात्र मानव जातिको भविष्य सुरक्षित हुने छ किन भने पृथ्वीमा मानिसमात्र एक्लो बाच्न सक्दैन ।
कोभिड–१९ को महामारीभन्दा कयौं महाविनाशकारी महामारी मानव जातिले सामना गरी विजय हासिल गर्दै आएको छ । यसैले कोभिड–१९ महामारीसँग आतंङ्कित हुनुपर्ने कुनै कारण छैन । कोभिड–१९ महामारीविरुद्धको लडाइँमा भौतिक दूरी कायम गर्दै सकारात्मक सोच, उच्च सतर्कता र उच्च मनोबलका साथ यसको सामना गर्नु नै एकमात्र सफल हतियार हो । एकताबद्ध भर्इ विश्व समुदायसँग मिलेर कोभिड–१९ को महामारी सामना गरौं, मानव जातिको जित सुनिश्चित छ ।
स्रोत–
Livescience.com/worst-epidemics-and-pandemics-in-history
Swasthyakhabar.com वैशाख १३,२०७७
Nepalihealth.com चैत २३,२०७६
विश्व स्वस्थ्य संगठनको वेबसाईट
Worldoneters.info/coronavirus
हिन्दुस्थान.com अप्रिल १, २०२००
नयाँ पत्रिका (वैशाख ५,२०७७)
नेपाल घटना (चैत्र १६,२०७६)
देश संञ्चचार (चैत्र ११,२०७६)
अनुमोदन खबर (अप्रल १७,२०२०)
Yarsanews.com
Wikipedia
- कालीकोटको महाबै गाउँपालिका डिल्लीकोटमा जन्मनुभएका सिंह समाजवादी जनता पार्टीका अध्यक्ष हुनुहुन्छ । उहाँ विज्ञान तथा प्रविधिसहित ६ पटक मन्त्री भइसक्नुभएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
