काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएपछि परीक्षणको दायरा व्यापक बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत कोरोना बढी संंक्रमित क्षेत्रमा परीक्षणको दायरा बढाउन माग गर्नु भएको संसदीय दलले जनाएको छ । कुराकानीका क्रममा प्रमुख सचेतक खाँणले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने तथा आवश्यक स्वास्थ्य सामग्री यथेष्ट व्यवस्था र विशेषज्ञसहितको मेडिकल टोली थप गर्नुपर्नेमा जोड दिनुभएको राससमा जनाइएको छ ।
सङ्क्रमित व्यक्तिहरु अरु थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भएको हुँदा त्यसलाई मध्यनजर गरी ती व्यक्तिको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप सङ्क्रमण फैलन नदिन सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
त्यसैगरी रुपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ का भारतबाट आएका युवकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हुँदा निजको सम्पर्कमा आएको व्यक्तिमा पनि सङ्क्रमणको उच्च जोखिम भएकाले उनीहरुको पहिचान गरी परीक्षणलाई तीव्रता दिन प्रमुख सचेतक खाँणले जोड दिनुभएको थियो ।
ती क्षेत्रमा स्वास्थ्य सामग्र िअभाव रहेको जानकारी गराउँदै उहाँले तत्काल आवश्यक सामग्री व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । मन्त्री ढकालले स्वास्थ्य सामग्री कमी भएका स्थानमा यथाशीघ्र आवश्यकताअनुसार पठाइने बताउनुभएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
