सुर्खेत । कोभिड–१९ को जोखिम हुन नदिन कर्णाली प्रदेशमा प्रहरीले एम्बुलेन्स आवतजावतसमेत रोक लगाउँदा बिरामी अलपत्र परेका छन् ।
प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगङ्गा नगरपालिकाको बबई प्रहरीले प्रदेश सरकारको निर्णयविपरीत मंगलबारु बिहानदेखि एम्बुलेन्स प्रदेशमा समेत रोक लगाएको एम्बुलेन्स चालकले बताएका छन् । वैशाख २२ गते रातिबाट कर्णाली प्रदेश सरकारले पूरै प्रदेशलाई सिल गरेको छ ।
सुर्खेतदेखि बिरामी लिएर नेपालगञ्ज गएको र मंगलबार बिहान फर्कंदा ती स्थानमा रहेका प्रहरीले कुनै पनि एम्बुलेन्स प्रवेश गर्न नदिएको प्रदेश अस्पताल सुर्खेतका एम्बुलेन्स चालक समीर न्यौपानेले बताए ।
“प्रदेश अस्पताल, माया नर्सिङ होम, अछाम विनायकको एम्बुलेन्स, भूपू सैनिकको दुईवटा र अर्को एउटासहित छवटा एम्बुलेन्सलाई प्रहरीले रोकेको छ,” उहाँले भन्नुभयो, “यसले गर्दा बिरामीलाई गन्तव्य पु¥याउन र अन्य फोन गरेका बिरामीलाई सेवा दिनुको साटो आफैँ अलपत्र परिएको छ । नागरिकको जीवन रक्षाका लागि हिँडेका आफूहरुलाई एम्बुलेन्स रोकेर प्रहरीले बबईको जङ्गलमा लखेटेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले एक सातासम्म प्रदेश प्रवेश गर्ने सबै सीमा नाकाबाट सवारी तथा पैदल यात्री आवतजावत पूर्ण बन्द गर्ने निर्णय गरेको थियो । यद्यपि एम्बुलेन्स, शव वाहनलगायत अतिआवश्यक काममा रोक लगाउने कुनै निर्णय नभएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राससलाई जानकारी दिनुभयो ।
नेपालगञ्जमा फैलिएको कोरोना सङ्क्रमणको जोखिम रोकथामलाई लक्षित गरेर अत्यावश्यकबाहेकका सवारी तथा पैदल आवातजावत पूर्ण बन्द गरिएको उहाँले बताउनुभयो । “एम्बुलेन्स त युद्धको बेला पनि रोकिँदैनन् भने नागरिककै जीवन रक्षाका निम्ति अहोरात्र खटिएको सरकारले यो रोक्ने निर्णय गर्नु कल्पनाभन्दा बाहिरको कुरा हो,” उहाँले भन्नुभयो, “यसमा के भएको हो, प्रदेश सरकारले प्रहरी प्रशासनसँग सहजीकरण गर्छ ।”
प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले एम्बुलेन्स रोक लगाउने कुरा राम्रो नभएको बताउनुभयो । “प्रदेश सरकारले मान्छेको जीवन रक्षा गर्ने साधन एम्बुलेन्स र जनशक्तिमा रोक लगाउने निर्णय गर्ने कुरै भएन नि”, उहाँले भन्नुभयो, “प्रहरीले एम्बुलेन्स रोक्नु हुँदैन । के रहेछ त्यो बुझ्दैछु ।”
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
