मस्को (रासस–एपी) । कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न ३ जना चिकित्सकले अति कार्यबोझ भएको भन्दै अस्पतालकै झ्यालबाट हामफालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकको गम्भीर घाइतेको उपचार क्रममै मृत्यु भएको थियो ।
विगत दुई साताको अवधिमा भएका यी घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ । रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन् ।
चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरेमा जागीरबाट हटाइने धम्की दिने दिएको चिकित्सकको भनाइ छ ।
समाचारहरुमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो ।
रसियामा सयौंको संख्यामा चिकित्साकर्मी नै कोरोनाभाइरसबाट संक्रमित भएका छन् । राजधानी मस्कोबाट ५०० किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा अलेक्जान्डर शुलेपोभको गत मे २ मा आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हामफालेका कारण ज्यान गएको थियो । कोरोना संक्रमित डा शुलेपोभको त्यही अस्पतालमा उपचार हुँदै थियो ।
पश्चिम साइबेरियाको क्रानोयास्र्क शहरमा अप्रिल २५ मा डा येलेना नेपोमन्यास्चाया नाम गरेकी चिकित्सकको अस्पतालकै पाँचौं तलबाट खसेर ज्यान गयो । उहाँको मे १ तारिखका दिन अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
त्यस्तै अप्रिल २४ मा मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर डा नताल्या लेभेदेभाको मृत्यु भयो । अस्पतालले दुर्घटनाबस नताल्याको निधन भएको बताए पनि स्थानीय संचार माध्यमहरुले डा नताल्यामाथि कोरोनाभाइससँग सम्बन्धित तनाब नै मुख्यरुपमा जिम्मेवार रहेका बताएका छन् ।
रसियामा १ लाख ६६ भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको र एक हजार ५३७ जनाको ज्यान गइसकेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
