हलक्कै ज्यान बढ्यो रे
लाली जोवन चढ्यो रे …
हट–हट मौसममा चिसो–चिसो पेप्सी
जसले देख्छ उसले मलाई किन भन्छ सेक्सी…
मेरो दिलको राजा पाएँ हृदयमा उनलाई सजाएँ
जसले मलाई दिलमा सजायो आज उसैलाई आफ्नो बनाएँ…
के–के भयो उनलाई देखी लाग्यो लाज साँची
पिरतीको तालमा नाच्छु कम्मर भाँची–भाँची…।
यस्तायस्तै बोलको लोकप्रिय गीत लोभलाग्दो श्रव्यदृश्यसहित गाउँ–सहरमा घन्कियो भने धेरैलाई जिज्ञासा र कौतुहलले सताउँछ– यो कोकिल आवाज कसको होला भनेर । अनि जोकोहीले पनि बाध्य भएर मुक्तकण्ठले प्रशंसा गर्छन्– ‘गीतको शब्द, संगीत, मोडलिङ र गायिकाको कला–स्वर सबै उत्कृष्ट छन् ।’
यतिमात्रै होइन– यस्ता मायाप्रेमले भरिएका, तीज, होलीजस्ता चाडपर्वका, राष्ट्रिय गीत र अरू धेरै कोसेली पस्किनुभएको छ उहाँले । उसो त कतै नेपाली सांगीतिक आकाशमा उज्यालो थप्नकै लागि उहाँको जन्म भएको त होइन ? भन्ने लाग्छ । रूप, कला अनि गलाकी धनी उहाँलाई बहुप्रतिभाकी प्रतिमूर्ति भन्दा अत्युक्ति नहोला । नेपाली कलाकारिता क्षेत्रकी प्रखर सुशीला पाठकको प्रसंग हो यो ।
हुन पनि नेपाली सांगीतिक फाँटमा सुशीला पाठक कुनै नौलो नाम होइन, नयाँ पुस्ताकी उदीयमान र चर्चित गायिका तथा मोडलको रुपमा चिनिनुहुन्छ उहाँ । ‘बिहानीले दिउसोको झल्को दिन्छ’ भनेजस्तै सुशीलामा सानैदेखि एकखालको विलक्षण प्रतिभा देखियो । बालपनबाटै नाचगानप्रति हुरुक्क हुनुहुने उहाँले तोतेबोली फुटेदेखि नै आफ्नो भविष्यको गन्तव्य पहिल्याउन थाल्नुभएको हो । सानामा घर–स्कुल गर्दा पनि गीत गुन्गुनाइरहनुहुन्थ्यो रे उहाँ । ‘कतै नाच–गानको आवाज आयो कि कान ठाडो भइहाल्थ्यो’ सुशीला आफ्नो विगत स्मरण गर्नुहुन्छ– ‘गीत÷संगीत भनेपछि त ध्यानै एकाग्र हुन्थ्यो ।’
त्यसो त सुशीलाले अहिलेसम्म झन्डै चार दर्जन गीत गाइसक्नुभएको छ भने उहाँको स्वर र मोडलिङमा छवटा म्युजिक भिडियो बजारमा आएका छन् । झापा स्थायी ठेगाना हुनुभएकी स्पष्टवादी, हक्की अनि बिद्रोही स्वभावकी उहाँको विद्यालयमा हरेक शुक्रवार साँस्कृतिक कार्यक्रम हुने गर्दथ्यो । त्यसमा कक्षा २ पढ्दादेखि नै सहभागी हुन थाल्नुभयो । सुशीलाको त्यो प्रतिभा देखेर कार्यक्रम हुने दिन शिक्षक–शिक्षिकाको पनि पहिले उहाँतर्फ नै आँखा गढिन्थ्यो ।
साँस्कृतिक कार्यक्रममा उहाँले अनिवार्य रूपमा गाउन र नाच्नै पर्ने हुन्थ्यो । झापा होस् या काठमाडौं विद्यालय–क्याम्पसमा अध्ययन गर्दा, बाहिर भएका विभिन्न विद्यालय, कलेज, क्षेत्र, जिल्ला, अञ्चल र राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रममा भाग लिएर थुप्रै पुरस्कार हात पारेको क्षण उहाँको मानसपटलमा ताजै छ । यतिमात्रै होइन– स्वदेश तथा विदेशमा आयोजित दर्जनौं साँस्कृतिक कार्यक्रममा सहभागी भएर स्रोता–दर्शकलाई पूरापूर मनोरञ्जन दिएकोे अनुभव पनि सँगाल्नुभएको छ उहाँले ।
‘जापान, लण्डन र बेलायतमा निकट भविष्यमा नै हुन लागेको कार्यक्रमका पनि मलाई आमन्त्रण गरिएको थियो तर नोबेल कोरोना भाइरस (कोभिड– १९) को महामारी तगारो बन्यो’ सुशीला भन्नुहुन्छ– ‘गायनसँगै अभिनय, मोडलिङ र नृत्यसमेत गर्ने भएकाले मेरो माग बढेको हो ।’ उहाँको अबको मूल लक्ष्य भनेकै चर्चित गायिका, नायिका, समाजसेवी र व्यवसायी बन्ने छ । कलाकारिता क्षेत्रमा शिखर लम्कँदै अनि चम्कँदै गर्ने मात्रै होइन– आफ्नो अन्तिम लक्ष्यमा पुग्न अहोरात्र मेहनत गरिरहनुभएको छ, डटिरहनुभएको छ उहाँ ।
प्रेम, यौन र विवाहमा के भिन्नता छ ? भन्ने जिज्ञासामा उहाँ थप्नुहुन्छ– ‘प्रेम भनेको दुई आत्माको मिलन हो र यौन प्रकृतिको देन । मेरो हकमा अहिलेसम्म त्यो साइत जुरेको छैन ।
प्रस्तुतिः अस्मिता क्षेत्री
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य


