म्याड्रिड (रासस–एएफपी) । स्पेनकै वृद्ध ठानिएकी एक सय १३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त हुनुभएको छ । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै वृद्धवृद्धाको मृत्यु भए पनि १ सय १३ वर्षीयाले भन कोरोना भाइरसलाई परास्त गरी विजय प्राप्त गर्न सफल हुनु भएको हो ।
अमेरिकामा जन्मिनुभएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उहाँ विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आउनुभएको थियो । उहाँमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।
केएर होमकी प्रवक्ताले मारिया कोरोनालाई जित्न सफल हुनुभएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मारियाको गत साताको स्वास्थ्य परीक्षण नतिजा नेगेटिभ देखिएको थियो ।”
तीन सन्तानकी आमा मारियालाई केही साता उहाँकै कोठामा आइसोलेसन (एकान्तबास) मा राखिएको थियो । उहाँको रेखदेखका लागि एक कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो । क्याटालान टेलिभिजन टिभी३ ले शताब्दी वृद्धाको समाचार कथाको फुटेजमा मारियाले आफूलाई केएर होमका कर्मचारीले निकै माया गरेको बताउनुभएको छ ।
यति दीर्घजीवनको रहस्य के होला भनेर सोधेको प्रश्नको जवाफमा मारियाले भन्नुभयो, “म स्वस्थ रहन पाएकामा आफूलाई निकै भाग्यमानी सम्झन्छु ।”
यस केएर होममा कोरोनासँग सम्बन्धित स्वास्थ्य जटिलताका कारण धेरै जनाको ज्यान गएको केएर होमकी प्रवक्ताले बताउनुभयो ।
मारियाका बारेमा हालैका वर्षहरुमा स्पेनी मिडियामा धेरै लेखरचना प्रकाशन भइसकेका छन् । उहाँ स्पेनमै सबैभन्दा बढी उमेरकी व्यक्तिका रुपमा सम्मानित हुनुहुन्छ ।
मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा ४ मार्च १९०७ मा भएको थियो । उहाँका स्पेनी बुबा अमेरिकामा पत्रकारिता हुनुहुन्थ्यो ।
मारिया आफ्ना परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्कनु भएको थियो । उहाँ सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि बाँच्न सफल हुनु भएको थियो ।
कोरोनाभाइरसको महामारीबाट स्पेनमा २७ हजारभन्दा बढी व्यक्तिको ज्यान गुमाइसकेका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
