• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बाटो बन्द गरी आवागम निषेध गरे कारबाही हुने

स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न र आदेशको पूर्ण कार्यान्वयन गर्न गृह मन्त्रालयको अनुरोध


  • खुला नेपाल
  • सोमवार, जेष्ठ ५, २०७७
  • 11.9K
    SHARES

काठमाडौं । केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गरी आवात जावतमा अवरोध गर्ने, टोल प्रवेशमा निषेध गर्ने, अत्यावश्यक काममा आवागमन निषेध गरी बाधा पुर्याउनेजस्ता काम भएकामा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना संक्रमणको त्रास देखाउँदै बाटो बन्द गरी ठाउँठाउँमा एम्बुलेन्ससमेत आउजाउमा समस्या खडा गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

यस कठिन क्षणमा अग्रपङ्क्तिमा रही खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुव्र्यवहार गर्ने, कानुनविपरीतका कार्य गरी मनोबल गिराउनेजस्ता अमानवीय कार्य भइरहेकोमा भन्दै मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न भनेको छ ।

विश्वव्यापी महामारीविरुद्ध लड्न सबैको सामूहिक प्रयास आवश्यक हुनुपर्नेमा आपसमा नै निषेधको बाटो अपनाउनु राम्रो नहुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा यस्ता अवाञ्छित गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ ।

आदेशको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न भए कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने मन्त्रायले जनाएको छ ।

नेपाल सरकारको निर्णयले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको बन्दाबन्दीको आदेशको कार्यान्वयन गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरेको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानुनबमोजिम सजाय हुने मन्त्रायले जनाएको छ । (रासस)

प्रतिक्रिया