स्रष्टा- सनु खड्का
(कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी ति सुत्केरी महिलाप्रति हार्दिक श्रद्धाञ्जली सहित रचित )
नौ महिनासम्म अनेकौं दुख–कष्ट सहेर पनि, सुरक्षित राख्न खोजेकै थिएँ यो पेटमा
त्यो वैशाख २३ को लामो प्रसव पीडा बिर्सिएर, हास्न थालेको थिएँ पाएर तिमीलाई साथमा
अमूल्य रत्न पाएको खुसीमा खै कहाँ कहाँ हराएछु, खुसीले पागल झैँ भएछु
तर खै कुन दैवको आँखा लाग्यो छोरा, म त सदाका लागि तिमीलाई नै छाड्न पो बाध्य भएछु ।
भगवान् जहाँ तही पुग्दैनन् रे, अनि पो बनाएका आमा भन्ने सुनेको थिएँ
तर म त कठोर आमा कहलिएँ छोरा, स्वार्थी भई उनै भगवान्को साथ बिलिन भएँ
मेरो यो सानो न्यानो काख तिम्रो लागि पर्याप्त देखिनछु बाबु
त्यसैले त सिंगो नेपाल आमाकै काखमा तिमीलाई सुम्पेर गएँ ।
जिउने रहर त धेरै थियो बाबु, कत्ति कत्ति संकटबाट भत्किएको मन जोडेकै थिएँ
अनेकौं सन्देश सुनेर, कोरोना महामारीबाट पनि सकेसम्म सुरक्षित बसेकै थिएँ
कसरी बास लिन पुग्यो यो मेरो शरीरमा, र भत्कायो हाम्रो फुल्दै गरेको संसार
मैले बाँच्न नसकेका बाँकी सबै आयु लागोस् छोरा तिमीलाई, यही छ मेरो प्रार्थना बारम्बार ।
पहिलो हुने रहर थियो मलाई पनि बाबु, जीवनका हरेक दुख काटेर सफल महिला हुने रहर
सन्तानका लागि सबैथोक त्याग गरेर, सबै क्षेत्रमा सगौरब उनीहरुलाई पहिलो बनाउने रहर
तर बाबु यस्तो बिश्वब्यापी महामारीसँगै, नेपालबाट मरेर जाने पहिलो हुने मन थिएन बाबु
किनकि म त हरेक बिघ्नबाधाबाट आफ्ना सन्तान जोगाउने प्रतिबद्धता बोकेकी निडर आमा हुन चाहन्थेँ ।
यसपटक मेरो निडरता खै कसरी झुक्यो, तैपनि तिमीले बाँच्नै पर्छ अनि जीवन जिउन सिक्नै पर्छ
करोडौं नेपालीहरुको सहानुभूति जो पाएका छौ, यी आशिर्बादलाई शक्तिमा बदल्नै पर्छ
अन्त्यमा मुटुभरिको माया तिमीलाई, गर्छु सदैब तिम्रो उज्ज्वल भविष्यको कामना
ती सबै संक्रमितहरुको मनोबल उच्च रहोस्, अनि कोरोना मुक्त समाज छिट्टै बनोस्
यही छ मेरो भित्री आत्माबाटै हरदम हरपल प्रार्थना ।
– उही तिमीलाई सधैं काखमा राख्न नसक्ने आमा
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
