स्वामी महाराज रणबहादुर शाहको जन्म विस १८३२ असारमा भएको थियो । यिनी नेपालको शाह वंशका तेस्रो पुस्ताका राजा हुन । नेपाल एकीकरणसँगै शाहवंशको पहिलो राजा पृथ्वीनारायण शाह हुन् । दोस्रो पुस्ताका राजा प्रतापसिंह शाह हुन् । रणबहादुर शाह तेस्रो पुस्ताका राजा हुन् ।
पृथ्वीनारायण शाहले सुरु गरेको नेपालको भौगोलिक एकीकरणको निरन्तरता रणबहादुरका पालामा बहादुर शाहले गरे । नायवी राजेन्द्रलक्ष्मी र युवराज बहादुर शाहका बीचमा समझदारी हुन सकेन । खिचातानी ज्यादै भएको थियो । उनी राजा प्रतापसिंह शाह र राजेन्द्रलक्ष्मीका छोरा हुन् । उनी बडामहाराजाधिराज पृथ्वीनारायण शाहका नाति हुन् । बहादुर शाहका भतिजा हुन् । रणबहादुर शाह विस १८३४ देखि १८५५ सम्म राजा भएका थिए । उनले जीवित छँदै गद्दी त्याग गरेका थिए । स्वामी जीवन स्वीकार गरेर बसे ।
रणबहादुरका पालामा नेपालको शासनसत्ता दुई ठाउँबाट चल्यो । नाबालक राजा गीर्वाणयुद्धलाई लिएर काजी कीर्तिमानसिंह बस्नेतले नुवाकोटबाट र रणबहादुर र राजराजेश्वरीले काठमाडौंमा गठन गरेको भारदारी सभाबाट मुख्य चौतारा बलभद्र शाह घोषणा गरी समानान्तर राज्यसत्ता चलाइएको थियो । गेरुवावस्त्र धारण गरेर पनि बसेका थिए । उनकी जेठी रानी राजराजेश्वरी हुन् । माहिली रानीको नाम सुवर्णप्रभा हो । साहिली रानी कान्तवती हुन् ।
उनले स्वामी–जीवन ग्रहण गरेपछि कान्तवतीतर्फका छोरा गीर्वाणयुद्ध राजा भए । जीवनको उत्तराद्र्धमा एक क्षत्रीय कन्यासँग पनि बिहे गरेका रहेछन् । रहस्यमय कुरो के छ भने रणबहादुरको मृत्युपछि अरु रानीहरु सती गएछन् । तर अन्तिममा बिहे गरेकी रानी सती गइनछिन् ।
सौखिन राजा
रणबहादुर शाह हँसिला व्यक्ति थिए । हँसमुख स्वभावका राजा थिए । यिनको स्वर पनि धेरै मीठो र सुमधुर थियो भनिन्छ । गाना बजानामा यिनको विशेष शौख र चाख थियो ।
नाचगान गर्न मन पराउँथे । रसिक थिए । यिनी चिटिक्क परेका खिरिलो पातलो जीउडालका थिए । यिनी बारम्बारजस्तो बिमारी परिरहन्थे । उनी दीर्घ रोगी नै थिए । उपचारका लागि वैद्यका नजिकमा हमेसा रहनु पथ्र्याे । यिनी डरछेरुवा पनि थिए । घोडा चढ्न असाध्य डराउँथे । औधी शौखिन पनि थिए । मोजमस्तीमा समय खर्चिन्थे । घोडा चढ्न छोडेर मानिसको बुई चढेर घुम्थे ।
यिनको पशुपंक्षी जुधाएर रमिता हेर्दै मजा लिने गजबको बानी थियो । त्यसैले यिनी पशुपंक्षी पालनमा रुचि राख्दथे । काठमाडौं गौचरणतिर यिनले पशु–पंक्षी पाल्न लगाएका थिए । साढे जुधाई खुब चाख दिएर हेर्थे । भाले जुधाई हेर्न पशुपंक्षीको पालन पोषणमा विशेष ध्यान दिन्थे ।
विधवा ब्राह्मणीसँग पुनर्विवाह
वि.स १८५१ मा आफैंले नयाँ भारदारी सभा गठन गरिसकेका थिए । पशुपतिनाथको दर्शनार्थ भक्तजनहरु ओहोरदोहोर भइरहन्थ्यो । यसैक्रममा फागुन महिनामा मिथिलाञ्चलतिरबाट अभिभावकका साथमा एक युवती पनि आएकी रहिछन् । उनको नाम कान्तवती थियो । उनी विछट्टै सुन्दरी थिइन् । उनै सुन्दरीमाथि चौताराद्वय शेरबहादुर शाही र विदुर शाहीका आँखा गढे । दुवै चौताराले नवयुवक राजा रणबहादुरलाई बेसरी उकासे ।
सुन्दरी कान्तवतीको सुन्दरताले रणबहादुर पग्लिए । कान्तवतीले आफू पतिव्रता विधवा ब्राह्मणी भएको खुलासा गरिदिइन् । पुनर्विवाह गर्नु अधर्म भएको उनको भनाइ थियो । त्यसैले आफूले विवाह नगर्ने तर्क अघि सारिन् । रणबहादुरका जेठी रानी राजराजेश्वरी र अर्की सुवर्णप्रभाका बीचमा सौतेनी कचपच उग्र भइसकेको थियो । राजराजेश्वरीका तर्फ एक छोरीको जन्म भएको थियो । सुवर्णप्रभाका तर्फ भने दुई छोरा थिए । राजराजेश्वरीका तर्फबाट अरु सन्तानको जन्म नहुने निश्चितप्रायः भइसकेको रहेछ ।
सुवर्णप्रभाका तर्फका जेठा छोरा रणोद्योत नै रणबहादुर शाहका उत्तराधिकारी हुने देखियो । सौतेनी रडाकोले रणोद्योत युवराज हुनबित्तिकै आफू असुरक्षित बन्ने अवस्था निकट देखेर राजराजेश्वरीले नवयौवना कान्तवतीलाई राजभवनमा भित्र्याउन राजा रणबहादुरलाई उकासिन् । आखिरमा रणबहादुरले तिमी पट्टिबाट जन्मिने छोरालाई उत्तराधिकारी तथा युवराज घोषणा गर्छु भन्ने वाचा गरेपछि कान्तवती रणबहादुरसँग विवाह गर्न राजी भइन् ।
तिनै कान्तवतीका गर्भबाट विस १८५४ मा गीर्वाणयुद्धको जन्म भयो । आफ्ना ६, ८ महिनाका छोरा गीर्वाणलाई कान्तवतीसँगको वाचा र जेठी रानी राजराजेश्वरीको इच्छाअनुसार राजा रणबहादुरले आफ्नो उत्तराधिकारी र युवराज घोषित गरे ।
स्वामी महाराज
कान्तवती बिरामी पर्न लागिन् । प्रिय रानीको उपचारका लागी राजा रणबहादुर सक्रिय भए । राजवैद्य, गुरु पुरोहित तान्त्रिक सबैसँग सम्पर्क गरे । कान्तवतीलाई क्षयरोगका लक्षण देखियो । राजभवनमा हाहाकार भयो । शक्तिमा आउन कुरेर बसेका भाइभारदारहरु सक्रिय भए । अवसरवादी भारदार कीर्तिमानसिंह बस्नेतले गीर्वाणयुद्धलाई राजा बनाउनका लागि दबाब दिन कान्तवती र राजराजेश्वरीका कान फुके ।
राजभवनमा दक्ष वैद्यको खोजी भइरहेको थियो । उनै कीर्तिमानसिंह बस्नेतले कान्तवतीको क्षयरोगको उपचार गर्न आफ्ना विश्वासपात्र मिलह्म वैद्यलाई प्रलोभन देखाएर राजी गराए । जटिल रोगको उपचारका लागि ठूलो धार्मिक सेवा गर्नु आवश्यक छ भन्ने निष्कर्ष निकालियो । पशुपतिनाथको दर्शनमा आउने–जाने श्रद्धालुको ओतबास सुविधाका लागि सदावर्त गुठी स्थापना गरियो । कान्तवतीको उपचारका लागि उपयुक्त स्वास्थ्य निवास खोजी भयो । रणबहादुरले देवपाटनमा स्वास्थ्य निवास बनाउन लगाए । वैद्यले क्षयरोगको उपचार सफल गर्नका लागि इन्द्रिय निग्रहमा रहनुपर्ने त्यसका लागि राजारानी दुवैले गेरुवा वस्त्र धारण गर्नै पर्ने राय तेस्र्याए ।
कीर्तिमानसिंहले अघि सरेर राजालाई वानप्रस्थ–जीवन ग्रहण गर्नका लागि सल्लाह टक्र्याए । वानप्रस्थ–जीवन ग्रहण गरेर ठूलो नाम कमाउन सकिन्छ भन्दै उकासे । बालक गीर्वाणयुद्धलाई राजसिंहासनमा बसाल्न पाए राजराजेश्वरीलाई तत्काल नायबी भई राजकाज सञ्चालन गर्ने अवसर र कीर्तिमानसिंह काजी हुन पाउने आशाले दुवैलाई लोभ्याएको थियो । कान्तवतीको रोगले विक्षिप्त बनेका राजा रणबहादुरले अठार महिनाका बालक गीर्वाणयुद्धलाई राजा बनाए ।
कान्तवतीको उपचार हेतु इन्द्रियनिग्रहका लागि यसरी तेइस वर्षे राजा रणबहादुरले स्वामी–जीवन ग्रहण गर्न भाइभारदारहरुका नाममा धर्मपत्रको सवालसमेत गरेका थिए । बालक राजाको हेरबिचार र राजप्रतिनिधिका रुपमा जेठी रानी राजराजेश्वरी राजभवनमा सक्रिय रहिन् । सुवर्णप्रभापट्टिका दुवै छोरा चौतारा घोषित गरिए । स्वामी महाराज रणबहादुर शाहले परमनिर्गुणानन्द स्वामी भन्ने नयाँ नाम ग्रहण गरेका थिए ।
कान्तवतीको उपचार
कान्तवतीको उपचार देवपाटनको स्वास्थ्य निवासमा मिलह्म वैद्यले गर्थे । तर स्वामी महाराज कान्तवतीको औषधोपचार र स्याहार सुसारमा उति ध्यान दिन सक्तैनथे । भौतारिएर हिंडेका थिए । यसैबीचमा लक्ष्मीनारायण नाम गरेका अर्का वैद्यसँग भेट भएछ । धामीझाँक्री गरी तान्त्रिक विधिले रानी कान्तवतीको उपचार गर्छु भनेर आशा देखाउँदा राजा रणबहादुरले लक्ष्मीनारायणसँग ठूलो भर गरेका थिए । वास्तवमा यिनी लक्ष्मीनारायण चाहि साँढे (जनावर) वैद्य थिए ।
लक्ष्मीनारायणले कुकर्मी राजकुमार बहादुर शाहको प्रेत आएर कान्तवतीलाई दुःख दिएकोले तान्त्रिक विधिले उपचार गरिरहेको छु जस्ता नानाभाती बकवास भनेर रणबहादुरलाई भुल्याउने काम गरे । उट्पट्याङ लक्ष्मीनारायण पछि चारपाटा मुडेर सिमाना कटाएर मुग्लान लखेटिएको थियो ।
कान्तवतीलाई रोगले चापिरहेको भए पनि रणबहादुर आफ्नै तालमा मस्त रहेर हिंड्ने गर्दथे । राजा रणबहादुरको रेखदेख र स्याहार सुसारका लागि सुवेदार भीमसेन थापालाई खटाइएको थियो । कान्तवतीलाई झन् रोगले चापी रह्यो । यसैको झोकमा रणबहादुरले महारानी कान्तवतीलाई इलाज मिलेन भनी मिलह्म वैद्यलाई कठोर सजाय दिए । र रानी कान्तवतीलाई साथै लिई पाटनका राजा सिद्धिनरसिंह मल्ल रहे बसेको राजभवनमा गई बसे ।
औषधि उपचारबाट सन्चो नभएपछि ब्राह्मण, गुभाजू र बाँडाहरुद्वारा चारभन्ज्याङभित्रका सबै देवी देवता र शक्तिपीठमा पूजा अनुष्ठान गर्न लगाए । तर कान्तवतीलाई सन्चो भएन । पशुपतिको आर्यघाटमा समेत अन्तिम उपचार गराए । अन्त्यमा कान्तवतीको देहवसान भयो । वियोगमा राजा रणबहादुरले महारानी कान्तवतीसँगै सती जानसमेत तयार भएका थिए । काजी दामोदर पाँडेलगायतका भारदारले सम्झाई बुझाई गरी रोके ।
विस. १८५७ मा वियोगको पीडामा रहेका स्वामी महाराज रातिको समयमा कसैलाई थाहा नदिईकन काशीतर्फ लागे । काशी पुगेका स्वामी महाराजलाई कम्पनी सरकारले शरणार्थीका रुपमा बस्ने व्यवस्था मिलाइदिएको थियो । उनले मुलुकी खानाबाट निकालेका अत्यावश्यक रुपैयाँ पनि लिएर गएका थिए । आफ्ना पति पलायन भएको थाहा पाएपछि केही रुपैयाँ लिएर रानी राजराजेश्वरी पनि काशीतर्फ लागिन् ।
स्रोत – बाबुराम आचार्यको नेपालको संक्षिप्त वृत्तान्त
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

