रुकुम । रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८ सोती भन्ने ठाउँमा अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज विकसमेतलाई बीभत्स तरिकाले हत्या गरेको र केही ब्यक्तिहरुलाई बेपत्ता पार्ने गरी भएको घटनाप्रति नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन जिल्ला इकाइ रुकुमको गम्भीर ध्यानाकर्षण भएको भन्दै कारबाहीका लागि माग गरेको छ ।
नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन जिल्ला इकाइ रुकुम अध्यक्ष आरसी गौतमले सोमबार विज्ञप्ति जारी गर्दै राज्य पूरै कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रित भैरहेको अवस्थामा, नेपाल सरकारले बन्दाबन्दीको घोषणा गरी सबै नागरिक घरमा रहेको बेला र २१ औ शताब्दिमा जातकै कारण कुनै समुदाय विशेषको मानिस मारिनु मानव जातिकै लागि लज्जाको विषय भएको उल्लेख गरिएको छ ।
उक्त घटना नेपालको संविधान प्रचलित कानुनविपरीत हो । घटनालाई राजनीतिकरण गर्ने र दोषीलाई बचाउने कार्यमा कुनै पनि राजनीतिक दलको संलग्नता किमार्थ स्वीकार्य हुँदैन । विधिको शासन, कानुनी राज्य र मानवअधिकारको संरक्षणका लागि पनि दोषीलाई कानुनको कठघरामा उभ्याउनुका साथै सत्य–तथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन स्थानीय प्रहरी, प्रशासन र नेपाल सरकारसमक्ष अनुरोध गर्दछु, विज्ञप्तिमा भनिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
