बा, खोइ गणतन्त्र ?
साइरन बजाउँदै गयो
कहाँ गयो बा ?
शितलनिवास, बालुवाटार र सिंहदरवार
लिन जाउँ न बा
चुप लाग, अभागी !
।।।
बा, म पेटमा छँदा
आमालाई भन्थ्यौ रे त,
अब गणतन्त्र आउँदैछ,
हाम्रा पनि दिन आउँछन्
पेटभरी खालिस्
धोती पनि किन्दिम्ला
बच्चालाई आफ्नै आगँनमा खेलाम्ला
किताब बोकेर स्कूल पठाम्ला
भन न बा,
यत्तिका बर्ष भैसक्यो
कहिले आउँछ हाम्रो दिन ?
के अब हाम्ले खुसी देख्न पाउन्नम् ?
।।।
किन रोयौ बा ? नरोउ न !
खै छोरा, अचेल त उनीहरु
सधै पर्ख मात्रै भन्छन्
अधिकार माग्न जाँदा
अहिले फर्क मात्रै भन्छन्
सिंहदरबार गाउँमा गैसक्यो
लक्ष्य पुरा भैसक्यो भनेर
एउटा किताव दिएका थिए
सिरानीमुनी छ नि,
संविधान लेखेको त्यो रातो किताव
।।।
बा, अलिअस्ति पिर्कामा चढेर
सलामी खाँदै थिए नि
के तिनै हुन सिहदरबार ?
झण्डा हल्लाउँदै ओहोर दोहोर गर्छन नि
के तिनै हुन गणतन्त्र ?
भो पिर नगर बा
तिमिले सुनेको साइरन त मलाई
गणतन्त्रको शोकधुन जस्तो लाग्छ
सडकको लावालस्कर र परेड
आफ्नै छातीमा बज्रे जस्तो लाग्छ
आँसु पुछ भो ! बा
तिम्रा सपनाहरुको अवसान भैसक्यो
गणतन्त्र त महलको कब्जामा गैसक्यो
अब त्यसले झुप्राहरुको आँगन टेक्दैन ।
२०७७ जेठ १५
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
