हेटौंडा । सारा विश्व नै कोभिड–१९ महामारीबाट आक्रान्त भइरहेको बेलामा यसको औषधि र खोपको तयारीका लागि विभिन्न देशका वैज्ञानिकहरु अनुसन्धानमै तल्लिन छन् । यस्तो अनुसन्धानको क्रममा नेपालका वैज्ञानिकसमेत महामारीको रुप लिएको कोरोना भाइरसको खोपको तयारीमा अनुसन्धानरत रहेको पाइएको छ ।
यसै सन्दर्भमा नेपालको त्रिभूवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थान्को हेटौँडा क्याम्पसका प्राध्यापक डा. ललितकुमार दासले कोरोना भाइरसविरुद्धको खोप तयार पारेको दाबी गर्नुभएको छ । तर सो खोपको हालसम्म परीक्षण भइसकेको छैन ।
डा. दासले दुई महिनाभन्दा बढी समय लगाएर कोभिड–१९ महामारीविरुद्धको खोप तयार पार्नुभएको बताउनुभएको छ । उहाँले वन विज्ञान क्याम्पसको हेटौंडास्थित प्रयोगशालामा केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति प्रयोग गरेर उक्त खोप तयार पारेको जिकिर गर्नुभएको छ ।
‘परीक्षणका लागि मैले सरकारी निकायमा पनि भनेको छु, दासले भन्नुभयो ।
भारतको वनारस विश्वविद्यालयबाट वनस्पति रसायनमा विद्यावारिधि प्रा.डा. दास वन विज्ञान क्याम्पसमा रसायन विज्ञानका शिक्षकसमेत हुनुुहुन्छ । बागमती प्रदेशस्तरीय केमिकल सोसाइटीका उपाध्यक्ष डा.दासले यसअघि नै जडीबुटीबाट हर्वल सेनिटाइजर बनाइसक्नुभएको बताइएको छ ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले समेत वन विज्ञान अध्ययन संस्थानस्थित डा. दासको प्रयोगशालाको निरीक्षण गरी खोपको परीक्षण गराइने आश्वासन दिनुभएको थाहा भएको छ ।
प्रा.डा. दासले सो खोप पूर्णरुपमा तयार भइसकेकोले यथाशीघ्र परीक्षणमा लेजानुपर्नेमा जोड दिनुभएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
