काठमाडौं । निसर्ग नाम दिइएको चक्रवातलाई मध्यनजर गर्दै मुम्बईका तटीय क्षेत्रका करिब १ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
यसरी सुरक्षित स्थानमा सारिएका मानिसहरुमा कोरोना भाइरस संक्रमित बिरामी पनि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मुम्बई विमानस्थलबाट हुने कयौँ विमानको उडानसमेत रद्द गरिएको छ । दैनिक ५० भन्दा बढी उडान अवतरण हुने मुम्बई विमानस्थलमा बुधबार ११ विमानले उडान र ८ वटाले अवतरण अनुमति पाएका छन् ।
अरब सागरमाथि बनेको चक्रवाती आँधी निसर्ग भारतको महाराष्ट्र र गुजरातको तटीय जिल्लामा आज (बुधबार) दिउँसो सम्ममा आइपुग्ने अनुमान गरिएको छ ।

उक्त चक्रवातको असर भने देखिन सुरु भएको छ । मुम्बई–ठाणेमा वर्षा हुन सुरु भएको छ । भारतीय मौसम विभागका अनुसार अरब सागरमाथि बनेको उक्त आँधी सबैभन्दा पहिला भारतको अलिबागमा ठोक्किने छ ।
चक्रवातलाई ध्यानमा राख्दै महाराष्ट्रले तटीय क्षेत्रमा राष्ट्रिय विपत उद्दार दलको २० टिम तयारी अवस्थामा राखेको छ । साथै, भारतीय वायु सेनाको टिमलाई पनि तयारी अवस्थामा राखिएको छ ।
मुम्बईमा प्रति घण्टा ११० किलोमिटरको गतिमा हावा हुरी चल्न सक्ने बताइएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
