जनकपुरधाम । सिरहाको औरही गाउपालिका ५ स्थित प्रेमिकाको घरमा बास बस्न गएका किशोर झुण्डिएको अवस्थामा फेला परेका छन् ।
स्थानीय नसिबलाल यादवका अन्दाजी १७ बर्षीय छोरा अबिरचन यादव झुण्डिएको अवस्थामा फेला परेका हुन् । आइतबार मध्यरातमा उनी सोही ठाउँका जोगिन्द्र यादवको घर गएका थिए । स्थानीयका अनुसार अबिरचन जोगिन्द्रकी छोरी ललिता यादवसंग प्रेम गर्दथे ।
ललिता सुत्ने घरमा राति करिब १ बजे अबिरचन झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । ललिताले उनी झुण्डिएको घरमा आफू नसुतेको प्रहरी समक्ष बयान दिएकी छन् । उनका अनुसार राति शौचालय गएको र फर्किने क्रममा घर चेकगर्दा उनी झुण्डिएको देखेपछि हजुरआमा र बुवालाई जानकारी गराएको पनि बयानमा भनेकी छन् ।
झुण्डिएका अबिरचनको नाकबाट रगत बगेको छ । नाकमा चोट लागेकोले रगत बगेको प्रहरीको अनुमान छ । मृतक अबिरचनका परिवारले भने हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् । घटनाको प्रकृति हेर्दा मृतकका प्रेमिका भनिएकी ललिताको बयानमा प्रहरीले आशंका गरेको छ ।
मृतक किशोरको शव जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि लहान अस्पताल पठाएको छ । घटनाको विषयमा अनुसन्धान थालिएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
