वल्ड्रोमिटरको आँकडालाई विश्वमा १० हजारभन्दा बढी पुस्तक, ६ हजारभन्दा बढी व्यावसायिक जर्नलहरु तथा एकहजार बढी विकीपेडिया पृष्ठले सन्दर्भ लिएको छ ।
आजको समयमा तथ्यांकको महत्व मानिसलाई दालभात खानु जत्तिकै भइसकेको छ । देश र विश्वमा सम्बन्धित क्षेत्रको विकास योजना र रणनीति बनाउन भरपर्दो तथ्यांकको आवश्यकता हुन्छ । हरेक देशले आ–आफ्नो तथ्यांक विभागमार्फत राष्ट्रिय तथ्यांकलाई अद्यावधिक गरिरहेको हुन्छ । देशको विकासका लागि यस्ता तथ्यांकले लक्ष र सूचक तय गर्न महत्वपूर्ण आधार दिन्छ ।
अहिले विश्व एउटा गाउँजस्तै बनेको छ । सूचना र सञ्चारको सञ्जालले गर्दा हरेक देशको सार्वजनिक गर्न मिल्ने तथ्यांक अहिले विद्युतीय सञ्जालमा सजिलै उपलब्ध हुन्छ । यस्तैगरी विश्वका सम्पूर्ण देशहरुको विभिन्न तथ्यांकलाई एकीकृत गरी विश्वव्यापी रुपमा उपलब्ध गराउन आजभन्दा १५ वर्षअघि वल्र्डोमिटर सञ्चालनमा ल्याइएको छ ।
वल्र्डोमिटरको सञ्चालन एउटा अन्तर्राष्ट्रिय टीमले गरेको छ । सो टीममा सफ्टवेयर विकासकर्ता, अनुसन्धानकर्ता तथा स्वयंसेवकहरु संलग्न छन् । उनीहरुको लक्ष विश्वभरिका प्रयोगकर्तासमक्ष समय सान्दर्भिक तथा विचारोत्तेजक तथ्यांकहरु उपलब्ध गराउनु हो ।
अमेरिकास्थित एक स्वतन्त्र डिजिटल मिडिया कम्पनीबाट वल्र्डोमिटरको तथ्यांक प्रकाशित हुन्छ । उसले आफूलाई कुनै अरु दोस्रो कम्पनी वा संस्था, सरकार वा राजनीतिबाट अलग रहेको दाबी गर्दछ ।
यसका साथै उससँग कुनै लगानीकर्ता, दाता, अनुदान वा पृष्ठपोषक नरहेको उसको जिकिर छ । वल्र्डोमिटर भन्छ, ‘हामी पूर्णरुपमा स्वतन्त्र र वित्तीय रुपले आत्मनिर्भर छौँ । हाम्रो अर्थको स्रोत बहुपक्षीय रुपमा विनिमय हुने स्वचालित विज्ञापनको क्रय–विक्रय हो ।’
वल्र्डोमिटरले उसको काउन्टरमा प्रकाशित हुने तथ्यांकको स्रोत विश्वका विभिन्न देशका सरकारहरुको आधिकारिक वेभसाइट भएको बताएको छ । वल्र्डोमिटरका बहुभाषिक तथा बहुपक्षीय टीमले हरेक दिनभरि विश्वभरिका देशहरुका सरकारको प्रेस ब्रिफिङ्गको प्रत्यक्ष प्रसारणको अनुगमन गर्ने उसले बताएको छ । यसका साथै दैनिक प्रकाशित हुने हजारौँ प्रतिवेदनको समेत परीक्षण गर्ने गरेको छ । यसरी उसले विश्वका ५ हजारभन्दा बढी स्रोतहरुबाट तथ्यांक लिने, त्यसलाई परीक्षण गर्ने तथा विश्लेषण गरी आफ्नो काउन्टरमा प्रकाशित गर्ने वल्र्डोमिटर बताउँछ ।
वल्र्डोमिटरको आँकडालाई विश्वमा १० हजारभन्दा बढी पुस्तक, ६ हजारभन्दा बढी व्यावसायिक जर्नलहरु तथा एकहजार बढी विकीपेडिया पृष्ठले सन्दर्भ लिएको उसले बताएको छ । सन्दर्भ लिँदा यसको लेखक वल्र्डोमिटर डट इन्फो, साइट हेरेको दिन (जस्तै ८ जुन, २०२०) तथा प्रकाशनस्थल अमेरिकाको डेलावेरको डोभर उल्लेख गर्नुपर्ने कुरा बारम्बार सोधिने प्रश्न खण्डमा उसले उल्लेख गरेको छ ।
वल्र्डोमिटरको प्रत्यक्ष तथ्यांक देखाउने पृष्ठलाई काउन्टर भनिन्छ । यो काउन्टर किन्न पाइने व्यवस्था छ । बारम्बार सोधिने प्रश्नको एउटा उत्तरमा वल्र्डोमिटरको काउन्टर राख्न चाहने वेभसाइट सञ्चालकले पैसा तिरेर अनुमति–पत्र लिनुपर्ने उल्लेख गरिएको छ । उसले अंग्रेजीलगायत विश्वका करिब ३५ भाषामा तथ्यांक काउन्टर सञ्चालन गरेको छ । यस वर्षको अन्त्यसम्म थप ११ भाषामा उसले काउन्टरमा तथ्यांक प्रकाशन गर्ने कुरा बताएको छ ।
उसले यो वर्ष र आजको दिनमा सो वेभसाइट हेरेको क्षणसम्मको तथ्यांक दिनेगर्दछ । यस वर्ष भन्नाले हरेक वर्षको अंग्रेजी महिनाको जनवरी १ तारिखको शून्य सेकेन्डयताको समय मान्नुपर्दछ । वल्र्डोमिटरको काउन्टर हरेक वर्ष जनवरी पहिलो तारिखमा शून्यमा झारिन्छ । जसरी मोटरमा तेल भर्नुअघि डिजेल र पेट्रोल पम्पको काउन्टरको मिटर शून्यमा झारिन्छ ।
वल्र्डोमिटरले विश्वका धेरै विषयको विश्वव्यापी तथ्यांकलाई एकमुष्ठ रुपमा उपलब्ध गराउँदछ । उसले हालको कोभिड–१९ सम्बन्धी तथ्यांक हरक्षण अद्यावधिक गरिरहेको छ । हाल विश्वका सबै सञ्चार माध्यमले राष्ट्रिय स्रोत र वल्र्डोमिटरबाट कोभिड–१९ सम्बन्धी तथ्यांक साभार गरी आफ्ना समाचार बुलेटिनहरुमार्फत श्रोता तथा दर्शकहरुलाई उपलब्ध गराइरहेको छ ।
वल्र्डोमिटरले विश्वको जनसांख्यिक तथ्यांक, सरकारहरुको आर्थिक तथ्यांक, सञ्चारको उपयोग, खाद्य तथा पोषणसम्बन्धी तथ्यांक, जल प्रयोग, ऊर्जाको खपत, स्वास्थ्यको अवस्थालगायत तथ्यांक निमेष निमेषमा अद्यावधिक गरिरहेको हुन्छ ।
जनसांख्यिक तथ्यांकमा उसले कुल जनसंख्या, जन्म, मृत्यु, खुद जनसंख्या, जनसंख्या वृद्धिसम्बन्धी तथ्यांक अद्यावधिक गर्दछ । यो लेख तयार पारेको दिनमा विश्वको जनसंख्या ७ अर्ब ७८ करोड ९९ लाख १३ हजारभन्दा बढी पुगिसकेको थियो । यो लेख तयार पार्दासम्म यस वर्ष संसारभर ६ करोड १२ लाख ५० हजारभन्दा बढी नयाँ जन्म भइसकेको छ भने २ करोड ५७ लाख बढी मानिसको मृत्यु भइसकेको थियो ।
उसले विश्वको सरकारहरुको आर्थिक क्रियाकलापअन्तर्गत सार्वजनिक स्वास्थ्य उपचारमा सरकारहरुले गरेको खर्च, शिक्षामा गरेको खर्च, उत्पादन गरिएको कारको संख्या, उत्पादित साइकल र कम्प्युटरको संख्याको तथ्यांक हरक्षण अद्यावधिक गरिरहेको छ । उदाहरणको लागि विश्वमा सन् २०२० को यो लेख तयार पार्दाको दिनसम्मको अवधिमा ३४ लाखभन्दा बढी कार, ६ करोडभन्दा बढी साइकल तथा १० करोडभन्दा बढी कम्प्यूटर उत्पादन भएका छन् ।
त्यसैगरी समाज र सञ्चार शीर्षकमा वल्र्डोमिटरले प्रकाशित पुस्तक संख्या, वितरीत पत्रपत्रिकाको प्रति, बिक्री गरिएको टेलिभिजनको संख्या, बिक्री भएको मोवाइल फोनको संख्या, भिडियो गेममा भएको खर्च, इन्टरनेट प्रयोगकर्ताको संख्या, प्रेषित इमेलको संख्या, लिखित ब्लगपोष्टको संख्या, ट्वीटको संख्या, गुगल सर्च इन्जिनमा सामग्री खोजी गरिएको संख्यासमेत अद्यावधिक गरिरहेको हुन्छ ।
यसै सन्दर्भमा वल्र्डोमिटरको काउन्टरअनुसार यो लेख तयार पार्दाको दिनमा मात्र ३९ लाख १३ हजारभन्दा बढी मोबाइल फोन बिक्री भइसकेको छ भने साँढे चार अर्बभन्दा बढीले इन्टरनेट प्रयोग गरेका छन् । यो लेख तयार पार्दाको दिनमा मात्र विश्वभरिमा ४१ लाख ८४ हजारभन्दा बढी ब्लग पोष्ट गरिएका छन् । त्यसैगरी ४ अर्ब ३७ करोड ५० लाखभन्दा बढी पटक गुगल इन्जिनमा मानिसहरुले डिजिटल सामग्री खोजिसकेका छन् ।
त्यस्तै, वल्र्डोमिटरले खाद्य तथा पोषणसम्बन्धी शीर्षकमा विश्वमा अल्पपोषित जनसंख्या, अधिक वजन भएका मानिसको संख्या, खतराको तहमा शरीरको तौल पुगेका मानिसको संख्या, भोकले मृत्यु भएका मानिसको संख्या, शरीरको तौलजन्य रोगको उपचारमा खर्च गरिएको रकम तथा तौल घटाउन खर्च गरिएको रकमको तथ्यांकसमेत अद्यावधिक गरिरहेको पाइन्छ ।
सो वल्र्डोमिटर काउन्टरका अनुसार विश्वभर ८४ करोड ३५ लाख ८८ हजारभन्दा बढी मानिस अल्पपोषित रहेका छन् । यो लेख तयार पार्दाको दिनमा मात्र १८ हजार ६ सयभन्दा बढी मानिस भोकले मृत्युवरण गर्न बाध्य भएका छन् ।
त्यस्तै जल प्रयोगतर्फ वल्र्डोमिटरले खर्च गरिएको पानीको परिमाण, पानीसम्बन्धी रोगको कारण भएको मानिसको मृत्यु संख्या तथा विश्वमा स्वच्छ पानीको अभाव झेलिरहेको मानिसको संख्यासमेत अद्यावधिक गरेको हुन्छ ।
वल्र्डोमिटर काउन्टरका अनुसार विश्वमा यस वर्ष यो लेख तयार पार्दाको दिनसम्म मात्र हालसम्म १ अर्ब ९० करोड ६० लाखभन्दा लिटर बढी पानी उपभोग भइसकेको छ भने पानीजन्य रोगबाट यस वर्षमात्र ३ लाख ६८ हजारभन्दा बढी मृत्यु भइसकेको छ । विश्वभर ८० करोड ५ लाखभन्दा बढी मानिसको सफा पिउने पानीको स्रोतसँग पहुँच नै छैन ।
ऊर्जाको खपततर्फ वल्र्डोमिटरले नवीकरणीय स्रोतबाट खर्च गरिएको ऊर्जा, अनवीकरणीय स्रोतबाट भएको ऊर्जाको खपत, सूर्यबाट पृथ्वीको सतहमा ठोकिने सौर्य ऊर्जाको मात्राको तथ्यांक पनि हरक्षेण अद्यावधिक गरिरहेको छ ।
वल्र्डोमिटरले विश्वमा निकालिएको तेलको परिमाण, निकाल्ने क्रममा छोडिएको तेलको परिमाण, हालको दरमा तेलको प्रयोग गरेमा तेल सक्किन बाँकी दिनको संख्या, पृथ्वीमा निकाल्न बाँकी प्राकृतिक ग्याँसको परिमाण, प्राकृतिक ग्यास सक्किन बाँकी दिनको संख्या, निकाल्न बाँकी कोइलाको परिमाण र कोइला सक्किन बाँकी दिनको तथ्यांकसमेत अद्यावधिक गरिरहेको छ ।
यस सन्दर्भमा हालको दरमा खपत गर्ने हो भने पृथ्वीमा रहेको तेलको भण्डार अबको ४३ वर्षमा सक्किनेछ । त्यस्तैगरी हालको दरमा खर्च गर्ने हो भने पृथ्वीमा रहेको प्राकृतिक ग्यास यो लेख तयार पार्दाको दिनबाट १ सय ५७ वर्षलाई मात्र पुग्नेछ । त्यस्तै कोइला ४ सय वर्षलाई पुग्नेछ ।
यसैगरी स्वास्थ्यसम्बन्धी तथ्यांकको काउन्टर अद्यावधिक गर्दै वल्र्डोमिटरले गएको जनवरी १ तारिख यता यो लेख तयार पार्दाको दिनमा मात्र सरुवा रोगबाट ५६ लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको, सिजनल फ्लुबाट २ लाख १३ हजार बढीको मृत्यु, ३३ लाख २३ हजार ५ सय बढी पाँच वर्षमुनिका बाललालिकाको मृत्यु, १ करोड ८५ लाख ९३ हजार बढी गर्भपतन, मदिरा सेवनको कारण १० लाख ९३ हजारभन्दा बढीको मृत्यु, ४ लाख ६८ हजार बढीको आत्महत्या भएको उल्लेख गरेको छ ।
वातावरणीय तथ्यांकले के भन्छ ?
वल्र्डोमिटरले हरेक क्षण (सेकेन्ड) को वातावरणीय तथ्यांक पनि अपडेट गरेर राख्दछ । यीमध्ये मुख्य वातावरणीय सूचकहरुमा वनजंगलको स्थिति, भू–क्षय, हरित–गृह ग्यासको उत्सर्जन, मरुभूमीकरण तथा विषालु रसायनको निष्काशन हुन् । तीमध्ये केही निम्नअनुसार साभार गरिएको छः–
वनजंगल नाश
वल्र्डोमिटरका अनुसार यस वर्ष यो आलेख तयार पारेको दिनसम्म २२ लाख ७१ हजार ४६२ हेक्टर बढी वनजंगल नाश भएको छ । त्यस्तै आलेख लेखेको दिनमा मात्र ६ हजार १८३ हेक्टर बढी वनक्षेत्र नाश भएको छ । यो तथ्यांक ग्लोवल फरेष्ट रिसोर्स एसेसमेन्ट (एफएओ) बाट लिई अद्यावधिक गरिएको हो ।
भू–क्षय
भू–क्षयबाट यो वर्षमात्र ३० लाख ५८ हजार १२ हेक्टरभन्दा बढी जमिन नोक्सान भएको छ । यो लेख तयार पार्दाको दिनमा मात्र ८ हजार ३३२ हेक्टरभन्दा बढी जमिन भू–क्षयबाट नाश भएको छ । यो तथ्यांक विश्व खाद्य तथा कृषि संगठन (एफएओ) बाट लिई अद्यावधिक गरिएको हो ।
कार्वनडाइअक्साइडको उत्सर्जन
यो वर्ष यो लेख तयार पार्दाको दिनसम्म कार्वनडाइअक्साइडको उत्सर्जन १५ अर्ब ७९ करोड १५ लाख ५७ हजार टन बढी भइसकेको छ । प्रतिसेकेन्ड करिब १ हजार टनको दरले यो उत्सर्जन भएको देखिन्छ । यो लेख तयार पार्दाको दिनमा मात्र ४३ लाख ७० हजार ९०१ टन बढी कार्वनडाइअक्साइड उत्सर्जन भएको छ । यो ग्यास हरित गृह प्रभाव उत्पन्न गर्ने मुख्य ग्यास हो जसले विश्वको तापमान वृद्धि गरी जलवायु परिवर्तनमा भूमिका खेलेको छ । यो तथ्यांक अमेरिकाको ऊर्जा विभागस्थित कार्वनडाइअक्साइड इन्फर्मेशन एनालाइसिस सेन्टरबाट लिइएको हो ।
मरुभूमीकरण
मरुभूमीकरणबाट यो वर्ष यो लेख तयार पार्दाको दिनसम्म ५२ लाख ४१ हजार ३ सय ८७ हेक्टरबढी भूभागमा सुक्खा लागेको छ । यो लेख तयार पार्दाको दिनमा मात्र करिब १४ हजार ३११ हेक्टरबढी क्षेत्र मरुभूमीकृत भएको छ । यो तथ्यांकको स्रोत संयुक्त राष्ट्रसंघीय मरुभूमीकरणविरुद्ध महासन्धिलाई बताइएको छ ।
विषालु रसायन निष्काशन
यो वर्ष यो लेख तयार पार्दाको दिनसम्म मात्र ४२ लाख ७७ हजार १५० टनबढी विषालु रसायन निष्काशन भएको छ । यो लेख तयार पार्दाको दिनमा मात्र ११ हजार टनबढी विषाक्त रसायन निष्काशन भएको छ । यो तथ्यांक संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम, अमेरिकाको वातावरण संरक्षण एजेन्सीलगायतबाट संयुक्त रुपमा लिइएको हो ।
यी तथ्यांकको काउन्टर हेर्दा अंकहरु द्रुत गतिमा दौडिरहेको देखिन्छ । जसरी तेलको मिटरमा अंक दौडिन्छ । अतः यी तथ्यांकहरु हेर्दा स्थिति अचम्मलाग्दो देखिन्छ । हामीले द्रुत गतिमा वातावरण विनाशकारी कामहरु गरिरहेका छौँ र वातावरण संरक्षणका कामहरु पनि गरेका छौँ । घडीको सेकेन्ड सुईभन्दा छिटो–छिटो यी तथ्यांकहरु थपिइरहेका छन् ।
अतः ‘मैले मात्र आज मात्र एकछिन’ राम्रो गरेर के हुन्छ भनेर नभनौँ । तपाई हामी जस्ता मानिसले संसारभरि नै वातावरणमैत्री क्रियाकलाप गर्दा विश्वमा प्रतिसेकेन्ड धेरै कृयाकलाप सम्पन्न हुन्छन् । जस्तै वृक्षरोपण । यसैले वातावरणमैत्री बनौँ र विलासी जीवनलाई सादा जीवनमा बदलौँ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

