बैतडी । सुदूरपश्चिममा पाँच दिनदेखि रोकिएको स्वाब संकलन कार्य आजदेखि सुरु हुने भएको छ । गत शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले रोक लगाएको स्वाब संकलन कार्य आजदेखि सुरु हुने भएको हो ।
क्वारेन्टाइनमा बस्दा आरडीटी पोजेटिभ देखिएका र शंकास्पद लक्षण देखिएका व्यक्तिहरुको आजदेखि स्वाब संकलनको काम अघि बढाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
बैतडीमा आरडीटी पोजेटिभ देखिएका झण्डै तीन सय जनाको स्वाब संकलन गर्न बाँकी रहेको छ । स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएका १५८ जनाको अझै पनि रिपोर्ट आउन बाँकी रहेको छ ।
सुदूरपश्चिममा रहेको एकमात्र धनगढी प्रयोगशालामा स्वाब परीक्षणको चाप बढेपछि निर्देशनालयले ५ दिनलाई स्वाब संकलन कार्य रोकेको थियो । प्रयोगशालाले दैनिक २५० वटा मात्रै नमूना परीक्षण गर्न सक्ने क्षमता रहेको छ ।
१ हजार बढी नमूना परीक्षण गर्न बाँकी रहेकोले स्वाब संकलन रोक्न गत शुक्रवार आफू मातहतका निकायलाई निर्देशनालयले परिपत्र परेको थियो । स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीका अनुसार संकलित नमूना लामो समयसम्म परीक्षण नगरी राख्दा बिग्रिने तथा रिपोर्ट गलत देखाउने समस्या आउने गर्दछ ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयले प्रदेशका धनगढी, बैतडी र डोटीमा कोरोना प्रयोगशाला स्थापना गर्ने भने पनि धनगढीमा मात्रै प्रयोगशाला सञ्चालनमा रहेको छ । बैतडी र डोटीमा २ महिना बढी भइसक्दा समेत प्रयोगशाला स्थापना नहुँदा समस्या देखिएको हो ।
यस प्रदेशमा भारतबाट दैनिक सयौँ नागरिक भित्रिरहेको अवस्थामा परीक्षणको दायरा नबढाउँदा संक्रमणको जोखिम बढ्दै गएको छ ।
भारतबाट फर्केका ६० हजार बढी नागरिक सुदूरपश्चिममा सबै जिल्लाका क्वारेन्टाइनमा बसिरहेका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
