काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्शासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुनुलाई राष्ट्रियता र जनताको पक्षमा राम्रो कदम भएको टिप्पणी गर्नुभएको छ ।
उहाँले नेपालको मिचिएको भूमि फिर्ताका लागि छिमेकी मुलुक भारतसँग वार्ता हुने पनि बताउनु भएको छ ।
‘अब भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुनेछ,’ प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संविधान संशोधन एक ढङ्गले सर्वसम्मत रुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएको मात्रै हो । यसको विपक्षमा कोही छैन ।’
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक शनिबार प्रतिनिधिसभाबाट पास भएपछि प्रधानमन्त्री ओलीले भारतसँग चाँडै वार्ता हुने धारणा राख्नुभएको हो ।
विधेयकको पक्षमा सबै दल एक ठाउँमा उभिएका छन् । पक्षमा २५८ मत परेको छ । प्रतिनिधि सभामा २७५ सांसद छन् । विपक्षमा कुनै पनि मत परेन । १२ जना सांसद उपस्थिति भएनन् ।
संविधान संशोधनका लागि तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ ।
भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपलेक र लिम्पियाधुरा आफ्नो भूभाग भन्दै नयाँ नक्सा जारी गरेपछि नेपालले त्यसको विरोध गरेको थियो ।
लकडाउनको अवधिमा भारतले उक्त भूभाग हुँदै चीन जोड्ने सडकको उद्घाटन गरेपछि नेपालले पनि आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
