काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा दिएको जानकारीअनुसार आज थपिए ३८० जनासँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार ५ सय ९१ जना पुगेको छ । जसमा पुरुष ६ हजार ९२ र महिला ४ सय ९९ जना रहेका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा मुलुकमा संचालित विभिन्न २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
जसअनुसार प्रयोगशाला परीक्षणमा मंगलबार पनि सबैभन्दा बढी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसैगरी धनगढीको सेती अस्पतालको प्रयोगशाला परीक्षणमा दोस्रो धेरै संक्रमित ७६ जना भेटिएका छन् ।
यस्तै प्रादेशिक अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानस्थित प्रयोगशाला परीक्षणमा ४ जना, प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशाला परीक्षणमा पनि ५५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको डा. गौतमले जानकारी गराउनु भयो ।
यस्तै नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा २ जना, प्रादेशिक प्रयोगशाला पोखरामा २१ जना, भेरी अस्पताल बाँकेको प्रयोशाला परीक्षणमा पनि १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजबिराजस्थित गजेन्द्रनारायण अस्पतालको प्रयोगशाला परीक्षणमा ३ जना र भरतपुरको प्रयोगशालामा पनि १ जना कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यसैगरी प्रादेशिक प्रयोगशाला रुपन्देहीमा ४ जना, प्रादेशिक अस्पताल सुर्खेतको परीक्षणमा ९ जना, धुलिखेल अस्पतालको प्रयोगशाला परीक्षणमा पनि २२ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालाको परीक्षणमा ५७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको डा. गौतमले जानकारी दिनु भयो ।
यस्तै बितेको २४ घण्टामा ११७ जना सफल उपचारपछि घर फर्किएका छन् । जसमा ८ महिला र १ सय ९ जना पुरुष हुनुहुन्छ । योसहित नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको कुल संख्या ११ सय ५८ जना कोरोना भाइरस जित्न सफल भएका छन् । निको भएर घर फर्किनेमध्ये पुरुष १ हजार ४६ जना र महिला ११२ जना रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभएको छ।
नेपालमा अहिलेसम्म जम्मा १९ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनु भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
