काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताउनु भएको छ ।
देशभरका विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तारका लागि आवश्यक कार्य गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्री ओलीले आह्वान समेत गर्नुभएको छ ।
नेपाल स्काउटको ६९आौं स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै ओलीले विपद् व्यवस्थापन कार्यका लागि समेत स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाउँगाउँमा ‘फस्ट रेस्पोन्डर’को रूपमा परिचालित गरिने बताउनुभयो ।
नेपाल स्काउटमा आबद्ध अनुशासित नयाँ पुस्ताका प्रयासले जीवनमय र उर्वर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने अपेक्षा ओलिको विश्वास छ । विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालबद्ध प्रयास सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
बालबालिका तथा युवामा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भावनाको विकास गराई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यसाथ सन् १९०७ बाट विश्वमा स्काउट अभियान सुरु भएको हो । नेपालमा विक्रम संवत् २००९ मा स्काउट अभियानको सुरुवात भएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
