पेरिस (रासस/सिन्ह्वा/एएफपी) । कोरोना भाइरसका कारण आइतबार मध्याह्न्नसम्म विश्वमा ४ लाख ६६ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।
संचार संस्थाहरुका अनुसार विभिन्न देशका आधिकारिक निकायले दिएको रिपोर्टमा कोरोना भाइरसबाट विश्वभरि ४ लाख ६६ हजार ८ सय ३९ जनाको मृत्यु भएको हो ।
त्यसैगरी कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या ८९ लाख २३ हजार ७८ पुगेको छ । विश्वभरि कुल सङ्क्रमितमध्ये ४७ लाख ४३ हजार ८ सय ९ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।
त्यसैगरी ३७ लाख १२ हजार ३ सय ७६ जना अझै सङ्क्रमित अवस्थामै उपचार गराइरहेका छन् । तीमध्ये ३६ लाख ५७ हजार ८ सय ७१ जना मध्यम अवस्थामा उपचाररत छन् भने बाँकी ५४ हजार ५ सय ५ जना गम्भीर अवस्थामा छन् ।
पछिल्लो विवरणअनुसार, सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामै रहेका छन् । त्यहाँ अहिलेसम्म २३ लाख ३० हजार ५८ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै सङ्क्रमित ब्राजिलमा १० लाख ७० हजार १ सय ३९ जना रहेका छन् ।
सङ्क्रमितको सङ्ख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटली र दशौँमा चिली रहेका छन् ।
सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको सङ्ख्या १ लाख २१ हजार ९ सय ८० रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५० हजार ५८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ । जहाँ ४२ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने चौथोमा स्पेन रहेको छ । स्पेनमा २८ हजार ३ सय २२ जनाको निधन भइसकेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
