लकडाउन अवधिको कर नलिने र कोरोना बीमा अरुले पनि सिको गर्दै
धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले कोरोनाको महामारीका बेला लिएका कतिपय निर्णय अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बनेका छन् ।
धुलिखेलले आफ्नो नगरपालिका भित्र लकडाउन अवधिको व्यवसाय कर नलिने निर्णय गरेको छ । साथै ज्येष्ठ नागरिकसहितलाई विमा गर्नेसम्बन्धी लोकप्रिय निर्णय गरेको छ ।
नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष समेत रहेका मेयर अशोक ब्याञ्जुले नगरवासीको हितमा हुने गरी यस्ता निर्णय भएको जानकारी दिनुभयो ।
मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले सबै पर्यटन उद्योग, व्यापार, व्यवसायीहरुलाई लकडाउन अवधिको व्यवसाय कर नलिने निर्णय गरेको थियो । यो निर्णयले धराशायीमा परेका व्यवसायीलाई थोरै भए पनि राहत मिलेको छ भने अप्रत्यक्ष रुपमा यसको फाइदा जनमानसमा पनि परेको छ ।
उक्त बैठकले व्यवसायहरूले लकडाउ भन्दा अगाडिको कर असार मसान्तसम्म तिरेमा उक्त समयमा लाग्ने जरिवाना समेत मिनाहा गर्ने निर्णय गरेको छ ।
बैठकले नगरपालिकामा बसोबास गर्ने ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरु र ६० वर्ष माथिका सबै दलित परिवारको पचास हजारसम्म कोरोना विमा गर्ने निर्णय गरेको थियो ।
यसरी कर छूट र कोरोना बीमा गर्ने स्थानीय तहमा धुलिखेल नगरपालिका पहिलो स्थानीय तह भएको छ ।
अन्य केही स्थानीय तहले यही मोडलको निर्णय लागू गर्दै गरेको बुझिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
