काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको कोरोना भाइरसको भ्याक्सिन पहिलोपटक मानिसमा परीक्षण सुरु गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयले अफ्रिकामा बुधबार उक्त भ्याक्सिनको मानव शरीरमा परीक्षण सुरु गरेको हो ।
विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको उपचारका लागि शोधअनुसन्धान गरिरहेका छन् । यसै सिलसिलामा अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको भ्याक्सिनको परीक्षण मानिसमा थालिएको हो ।
यस्तै, ब्राजिलको साओ पालोस्थित फेडरेल विश्वविद्यालयका शोधकर्ताहरुले पनि परीक्षणका लागि स्वयंसेवकहरुमा उक्त भ्याक्सिन लगाइदिएका छन् ।
तीव्र गतिमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएकाले उक्त भ्याक्सिनको परीक्षणका ब्राजिललाई चुनिएको बताइएको छ । अमेरिकापछि कोरोनाबाट बढी प्रभावित मुलुकमा ब्राजिल पर्दछ ।
पछिल्लो समय कोरोनाको भ्याक्सिन विकासमा शोधकर्ताहरुले पाउँदै गरेको सफलतालाई लिएर कोरोनाको औषधि पत्ता लाग्ने आशा बढ्दै गएको छ ।
दक्षिण अफ्रिकामा सुरु गरिएको परीक्षणमा अक्सफोर्ड विश्वविद्यालयसँगै युनिभर्सिटी अफ विटवाँटरश्रेण्डले पनि सहकार्य गरेको छ ।
उक्त भ्याक्सिनको मानव परीक्षणमा दुई हजार स्वयंसेवकले भाग लिँदै छन् । उनीहरुको उमेर १८ देखि ६५ वर्षसम्म रहेको बीबीसीले जनाएको छ ।
भ्याक्सिन लगाईएका व्यक्तिहरुलाई १२ महिनासम्म निगरानी गरिने छ । कोरोना भाइरसबाट सुरक्षित राख्न उक्त भ्याक्सिन सफल रहन्छ भन्ने कुराको नतिजा हेरिने छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
