आज १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव । यानि मानो खाएर मुरी उत्पादन गर्ने बेला यो । आज भन्दा १७ वर्षअघि नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने घोषणा नै गरेको थियो । त्यही दिनमा नेपाली किसानले रोपाइँ महोत्सवका रुपमा यस दिनलाई मनाउन थालेका छन् ।
भनाइ नै छ, असार १५ मा खेतको हिलो छुनु । यसैले होला आफ्नै धान खेत नभए पनि छिमेकीको खेत पुगेर एक मुठी धानको बिउ रोप्छन् सर्वसाधारणले पनि । यसै मेसोमा मुलुकका धेरै ठाउँमा किसानहरुले आज दिवसकै रुप दिएर खेत रोपेका छन् । दर्कने पानी परोस् वा टन्टलापुर घाम । किसान खेतमा पसेपछि साँझ नपरी वा मेलो नसकिइकन हिलोबाट बाहिर निस्कन्न ।
यसै मेसोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल किसान संघका अध्यक्ष तथा नेकपाका उपाध्यक्ष वामदेव गौतमले पनि खेतमा पुखेर खेतलासँगै धानको बिउ रोपेर किसानलाई उत्साहित पार्नु भएको छ । उहाँले काठमाडौंका फाँटहरुमा पुगेर धान दिवस रोपाइँ महोत्सवमा पुगेर सहभागिता जनाउनु भएको छ ।
अखिल नेपाल किसान संघले ठाउँ ठाउँमा धान दिवसलाई हर्षोल्लाससाथ मनाएको छ । पार्टी नेताहरु पनि खेत खेतमा पुगेर किसानलाई साथ दिनु भएको छ । देशभर आज धान दिवस मनाइएका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी कृषि कर्मलाई महत्व दिनु पर्ने उल्लेख गर्नुभएको छ । किसानलाई कोभिड– १९ का कारण थिलथिलो परेको अर्थतन्त्र उठाउने मुख्य आधार कृषि नै हो भन्ने सन्देश प्रधानमन्त्रीले दिनु भएको छ ।
आज खेत रोपेर खाजाको रुपमा दही, केरा, चिउरा, आँपजस्ता परिकार खाने चलन पनि छ । खेतमा नजानेले पनि दही चिउरा खाएर असार १५ मनाउँछन् ।
असार १५ को मेलोमा खुलानेपाल डट कमका पत्रकारको क्यामराको लेन्सले देखेका केही दृश्य :
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य







