काठमाडौं । ऋषि धमला नेतृत्वको प्राइम टाइम्स टिभीले धमाधम कर्मचारी र पत्रकारलाई निकाल्न थालेको छ । लकडाउनका समयमा समेत कठिनपूर्वक काम गरेका झण्डै एक दर्जन पत्रकार, कर्मचारीलाई अब देखि अफिस नआउनू भन्दै निकालिएको हो ।
निकालामा पर्नेहरुमा बिजनेश रिपोर्टर रोशन कार्की, एमसीआर इन्जिनीयर उत्तम श्रेष्ठ, रिसेप्सनिस्ट राधा केसी, संवाददाताहरु सिर्जना कार्की र गीताञ्जली अधिकारीलगायत छन् । अन्य केहीलाई पनि निकाल्ने तयारी गरिएको छ ।
पत्रकार निकाल्नेमा अगुवाई यसअघि टेलिभिजनको सामान खरिद गर्दा हिनामिनाको आरोप लागेका निर्जल श्रेष्ठलगे गरेका छन् ।
श्रेष्ठले पत्रकार र कर्मचारीहरुलाई एकएक गरि कोठामा बोलाएर अफिस नआउन निर्देशन दिएको पीडितहरुले बताएका छन् । पछि बोलाएका खण्डमा मात्र आउन भन्दै उनले ती कर्मचारीलाई अफिसले निकालेको कुरा कसैलाई नभन्न भन्दै ब्ल्याकमेल पनि गरेका छन् ।
भोलिदेखि अफिस नआउनू पछि सकियो भने बोलाउँला अहिलेलाई नआउनु उनको भनाई उदृत गर्दै एक पीडित कर्मचारीले खुलानेपाललाई भने ।
यसअघि लकडाउनका नाममा जबर्जस्ती पत्रकार र कर्मचारीलाई बेतलबी बिदा बसाएका टिभीले बैशाख र जेठको तलब समेत दिएन । काम गरेकालाई पनि पुरै तलब दिइएको छैन । लकडाउन खुकुलो भएसँगै टेलिभिजनमा हाजिर भएकाहरुलाई निर्जल श्रेष्ठले धम्कीपूर्ण भाषामा कार्यालय नआउन भनेपछि आक्रोशित भएका पत्रकार र कर्मचारीले अदालत र पत्रकार महासंघ जाने निधो गरेका छन् ।
प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुका लागि लड्ने भनिएपनि यस मामलामा टिभीका अध्यक्ष ऋषि धमलाले मौनता साँध्दै आफु पर्दापछाडी बसेर विवादित प्रबन्ध निर्देशक निर्जललाई प्रयोग गरेको एक कर्मचारीले बताए ।
निर्जल श्रेष्ठ तिनै व्यक्ति हुन् जसलाई अध्यक्ष धमलाले दुई वर्षअघि टिभीको सामान खरिदमा २० लाखभन्दा बढि तलमाथि भएको भन्दै हटाइएको थियो ।
तर, जेठबाट उनलाई पुनः टिभीमा प्रवेश गराइएको हो । टिभीको अस्तव्यस्त अवस्थाका कारण केही समयअघि पत्रकार अर्जुन खड्काले सम्पादकबाट राजीनामा दिएका थिए । युवा पत्रकारहरु श्यामसुन्दर पुडासैनी, उद्धवराज भेटुवालहरुले पनि टिभी अघि नबढ्ने भन्दै राजीनामा दिएका थिए । अहिले टिभीमा ऋषि धमलाको चाकडी गर्ने आसेपासेमात्र बाँकी रहेका छन् ।
आन्तरिक किचलो शिखरमा, साहुजीहरु बीच पानी बाराबार
ऋषि धमलाको नाम र उनको चर्चित कार्यक्रम जनता जान्न चाहान्छन् बाहेक खासै प्रभावकारी कार्यक्रम नरहेको टिभीमा लगानीकर्ताहरुको लडाईं पनि उत्कर्षमै छ । अरुलाई लगानी गराएर टिभीको अध्यक्ष बनेका ऋषि धमलालाई लगानीकर्ता फकाउन मै ठिक छ ।
स्रोतका अनुसार टिभीमा लगानी गरेका बियर व्यापारी तेजेन्द्र खड्का र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचन पक्षका व्यक्तिहरुको पानी बाराबारको अवस्था छ ।
हिराचन पक्षबाट टिभीमा पत्रकार वैकुण्ठ ढुंगाना महाप्रबन्धक भएर आएसँगै पहिलेको लगानीकर्ता तेजेन्द्र खड्काले आफ्नी बुहारी निलिमा गंगोललाई टिभी पठाउन छाडेका छन् ।
गंगोल टिभीमा प्रबन्ध निर्देशक थिइन् । खड्का र हिराचनपक्षबीच असहमतिमात्र होइन पानी बाराबारकै अवस्था रहेको निकटस्थहरु दावी गर्छन । उनीहरु बीचमात्र होइन पहिले नै टिभीमा लगानी गरेका काँग्रेस नेता दीपक खड्काले पनि पैसा फिर्ता नपाएपछि ताकेता गरिरहेको बुझिएको छ ।
मुख्यगरी खड्का र हिराचन पक्षको संघर्षका कारण टिभीले चर्चा कमाएपनि नाफामा जाने अवस्था नआएको बताइएको छ ।
देशका प्रमुख सवाल प्रमुखतासाथ उठाउने पत्रकार धमलाले आफ्नै टिभीका पत्रकार, कर्मचारीलाई परेको अन्यायमा कस्तो भूमिका देखाउँछन् भन्ने प्रश्न उनकै सहकर्मीहरु गर्न थालेका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
