कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार मास्क नलगाई हिँड्ने २१ जनालाई नियन्त्रणमा लिएको छ ।
अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गरिएकामा त्यसको अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएर सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाहीका लागि जिल्ला प्रशासनमा पठाइएकोमा जनही १ सय रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको थियो । कोरोनाको थप जोखिम बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी एकाइसमेतबाट माइकिङ गर्ने, सम्झाइ बुझाइ गर्ने गरिएकामा अटेर गर्नेहरुलाई कारवाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालयले सम्पूर्ण कास्कीवासी नागरिकलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, न्यूनतम सामाजिक दूरी कायम गर्न र अनावश्यक जमघट नगर्नसमेत अनुरोध गर्दै आएको छ । यसको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
