काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यक्तिगत स्वार्थलाई त्यागेर सङ्गठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा सक्रियता हुन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहमा उहाँले समस्याबाट भागेर होइन जुधेर अगाडि बढ्न प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनुभयो ।
क्षेत्रीले वर्तमान अवस्थामा नेपाल प्रहरीसामु रहेका विविध चुनौती समाधानका लागि सबैलाई पूर्ण सहयोगीको रुपमा प्रस्तुत हुन आग्रह गर्नुभयो । आउँदा दिनमा कुनै पनि प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन ऐन कानूनमा निर्दिष्ट एवं वरिष्ठता तथा तथ्याङ्कको आधारमा हुने उल्लेख गर्दै उहाँले सबै प्रहरी कर्मचारीले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रहरी, प्रहरीजस्तै हुनुपर्छ तर विनम्र पनि हुनुपर्नेमा जोड दिँदै आफ्नो व्यवहारलाई सुधार गर्दै सङ्गठनको सुधारका लागि ऐन, नियमको परिधिमा रहेर सबै प्रहरी कर्मचारीहरु ऐक्यबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रहरी कर्मचारीहरुको वृत्ति विकास एवम् कल्याणकारी योजनाहरु बारेमा सङ्गठन सदैव क्रियाशील रहेको उल्लेख गर्दै उहाँले सङ्गठनले लिएको उद्देश्य पूरा गर्न प्रत्येक प्रहरी कर्मचारीहरु मानसिक एवं शारीरिक रुपमा स्वस्थ हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी महानिरीक्षक क्षेत्रीले व्यावसायिक रुपमा व्यस्त भए पनि आफ्नो परिवारलाई समय दिन सकेमा प्रहरी कर्मचारीहरु मानसिक रुपमा स्वास्थ्य हुनसक्ने विचार व्यक्त गर्नुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
