काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ ।
घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
यसैगरी व्यास नगरपालिका–९ माझफाँटकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रिसिङ गाउँपालिका–८ भैंसीकिलेमा पहिरोमा पुरिएर अनबहादुर थापाको एकै परिवारका ५ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा अनबहादुरका जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, भेषबहादुरकी २९ वर्षीया श्रीमती नानुमाया, उनीहरुका ५ वर्षकी छोरी अमिषा, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र महादेवकी १९ वर्षीया श्रीमती मनिसरा थापा छन् ।
यसैगरी व्यास नगरपालिका–९ माझफाँटमा केशरबहादुर थापाको परिवारका ४ सदस्य पनि बेपत्ता भएका छन् । थापाकी ४० वर्षीया श्रीमती कमला, छोराहरु २४ वर्षका मनोज, २० वर्षका राजेश र २१ वर्षकी छोरी अन्जना थापा बेपत्ता भएको प्रहरीले जनाएको छ । यसैगरी व्यास–११ ओरालेमा पहिरोले एक पुरिएर एक जना बेपत्ता भएका छन् ।
पहिरोमा बेपत्ता भएकोको खोजीकार्य, घाइतेको उद्धार तथा अन्य क्षति विवरण संकलनमा सरोकारवाला निकाय तथा स्थानीयसँग समन्वय गरी काम भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
