कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारबाही गर्दा करिब १ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारबाही गर्दा प्रतिव्यक्ति १०० रुपैयाँका दरले १ लाख ५ हजार ९ सय रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
कोभिड– १९ को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई सय रुपैयाँ जरिवाना निर्देशन दिएको थियो ।
सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो । सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीस्वरुप जरिवाना तिराइएको बताउनुभयो ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी सुर्खेतले समेत लकडाउन उल्लङ्घन गर्ने ५८३ सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारबाही गरेको छ । त्यसबाट ५ लाख ८९ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
