एजेन्सी । चीनले पहिलो पटक आफू एक्लैले तयार गरेको यान मंगल ग्रहमा पठाएको छ ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार बिहीबार स्थानीय समयअनुसार १२ बजेर ४१ मिनेट जाँदा तियानवेन नामको यान पठाइएको हो । हैनान टापुमा लङमार्च-५ रकेटबाट गएको उक्त यान आगामी फेब्रुअरीमा मंगल ग्रहमा पुग्ने अपेक्षा गरिएको छ ।
मंगल ग्रहमा पुगेपछि उक्त यानले त्यहाँको ९० दिन काम गर्ने बताइएको छ । मंगल ग्रहको दिन पृथ्वीको भन्दा लामो हुन्छ ।
चाइनिज एकेडेमी अफ साइन्सेसका विज्ञ वाओ वेइमिनले गत जुनमा समाचार संस्था सिन्ह्वासँग भनेका थिए- यो प्रक्रियामा सबैभन्दा कठिन ल्यान्डिङको काम हो । चार स्टेपमा हुने ल्यान्डिङका लागि सातदेखि आठ मिनेटसम्म लाग्न सक्छ ।
मंगल ग्रह जान हिँडेको चिनियाँ यानमा अर्विटर, ल्यान्डर र रोभर छन् । ल्यान्डर र रोभरले मंगल ग्रहको सतहमा सफ्ट ल्यान्डिङ गर्नेछन् । त्यसपछि रोभरले मंगलको सतह, वायुमण्डल र त्यसमाथिको आइओनोस्फेयरको अध्ययन गर्नेछ ।
९ वर्षअघि चीनले रूससँग मिलेर यिन्गहोउ-१यान मंगल ग्रहको अर्बिटका लागि पठाएको थियो । पछि उक्त यान प्राविधिक कारणले क्षति भएको थियो ।
मंगल ग्रह सूर्यबाट चौथो टाढा रहेको ग्रह हो भने सौर्य मण्डलमा यो सबैभन्दा सानामध्ये दोस्रो ग्रह हो। पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह पनि यही हो।
मंगल ग्रहको अध्ययन गर्न सुरू भएको पनि ६ दशक पुगिसकेको छ । सन् १९६० को अक्टोबरमा सोभियत युनियनले पहिलो पटक यान पठाउन खोजेको थियो तर लन्चका क्रममा नै त्यो ध्वस्त भएको थियो ।
४ दिनअघि युएईले पनि मंगल ग्रहका लागि आफ्नो यान पठाएको छ । उक्त यान पनि फेब्रुअरीमै मंगल ग्रहको सतहमा पुग्ने अपेक्षा गरिएको छ । अरब मुलुकबाट मंगल ग्रहमा यान पठाउने युएई पहिलो मुलुक हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
