काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनपछि बन्द यातायात सञ्चालन अहिले खुलेको छ । यातायात खुलाउने वा नखुलाउने विषयमा सरकार र यातायात व्यवसायीबीच ठूलै बहस भयो । व्यवसायीले धेरै माग सम्बोधनको प्रयत्न गरे । सरकारले केही विषयमा मागको सम्बोधन पनि गर्यो । तर पनि व्यवसायी टसमस भएनन् ।
अन्ततः सरकारले चैत ११ गतेदेखिको लकडाउन मंगलबार रातिबाट हटाएको छ । सबैतिर खुलमखुला भएपछि माग सम्बोधन गराउन भन्दै बसेकै बेला केही व्यावसायिक कम्पनीले आफ्ना साधन सडकमा उतारे । धेरैजसो ग्यारेजमै थन्किए । तर लकडाउन खुलेको पर्सिपल्टबाट सबै यातायात सञ्चालनमा आएका छन् ।
व्यवसायी र मजदुर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी चलेका छन् । यस्ता सवारीमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् ।
केही व्यवसायीले गत सातादेखि नै सवारी चलाए पनि बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदुर सङ्गठनले बिहीबारदेखि सवारी सञ्चालन गर्न थाले पनि त्यो चाप थोरै बढेको छ । आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन ।
उपत्यकाका विभिन्न स्थानमा पुग्दा सवारी सडकमा कमै देखिन्थ्यो । त्यसो त सामान्य अवस्थामा खचाखच देखिने सुन्धारा, शहीदगेट, बबरमहल, नयाँबानेश्वर, कोटेश्वरलगायत प्रतीक्षालयमा कार्यालय समयमा पनि थोरैमात्र यात्रु देखिन्थे । सडकमा गुडिरहेका बस, माइक्रो, ट्याम्पोलगायत सवारीमध्ये अधिकांशमा आधाभन्दा कम मात्रै यात्रु देखियो । अधिकांश सवारी साधनमा चालक, सहचालक र यात्रुले माक्स र स्यानेटाइजरको प्रयोग गरेको देखियो भने कतिपय चालक भाइजर नलगाएको देखिन्थ्यो ।
सरकारले झण्डै चार महिना पहिलेदेखि जारी राखेको बन्दाबन्दी बुधबारदेखि सकियो । बन्दाबन्दीकै अवधिमा लागू निजी सवारीमा जोर÷बिजोर प्रणाली हटाइएसँगै सडकमा निजी सवारी साधन बढ्न थालेको हो । सडकको चाप थोरै मात्रै बढेको पाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोभिड–१९ रोकथामका लागि स्वास्थ्य सुरक्षा नपनाउने चालक सहचालकलाई ‘होल्ड’ मा लिइएको महाशाखाका प्रवक्ता दानदेव गौतमले जानकारी दिनुभयो । उपत्यकाभर ती दुई दिनमा झण्डै ३१ सवारीलाई ‘होल्ड’ गरिएको हो । उहाँले भन्नुभयो, “स्वास्थ्य सावधान नअपनाउने सवारी साधनलाई दिनभर होल्ड गराएर साँझ मात्रै छाड्ने गरिएको छ ।”
बिहीबार मात्रै स्वास्थ्य सावधान नअपनाएकोमा १६ बस, १४ ट्याक्सी र एउटा ट्याम्पोलाई होल्ड गरिएको थियो । सरकारले कोभिड–१९ को जोखिम मध्यनजर गर्दै सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्ने निर्णय गरे पनि यी सवारी साधनले त्योभन्दा बढी राखेको पाइएको प्रवक्ता गौतमले बताउनुभयो ।
कतिपय सवारीमा चालक र सहचालकले माक्स, पञ्जा, भाजरलगायतका सुरक्षा सामग्रीको प्रयोग नगरेको पाइएकाले होल्ड गरिएको हो । उहाँले भन्नुभयो, “ट्र«ाफिक प्रहरीले सकेसम्म सम्झाउने र नमानेको अवस्थामा मात्रै होल्ड गरेको छ ।”
उपत्यकामा चक्रपथ र चक्रपथभित्रका सडकमा अधिकांश सवारी साधनमा यात्रु कम देखिए पनि उपत्यका नजिकका बस्ती (काँठ क्षेत्र) सम्म जाने बसमा यात्रु बढी राखेको देखिन्थ्यो । बस, माइक्रोलगायत सवारी ज्यादै कम सङ्ख्यामा चलेकाले चढ्न बाध्य भएको यात्रुको भनाइ छ । प्रवक्ता गौतमले भने ट्राफिक प्रहरीले अनुगमन गरिरहेको र क्षताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा कारवाही गरिएको बताउनुभयो ।
केही दिन पहिले मात्रै यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमाल, यातायात व्यवसायी र मजदुर सङ्गठन र काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुखसमेत सहभागी भएर बैठक भएको थियो । बैठकमा स्थानीय तहले आआफ्नो क्षेत्रमा बस रोक्ने ठाउँमा पानी र साबुनको व्यवस्था गर्ने सहमति भएको थियो ।
त्यसो त कतिपय स्थानमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कोभिड–१९ को जोखिम सुरु भएदेखि नै साबुनपानीको व्यवस्था गरेको थियो । अहिले कतिपय पालिकाले थप स्थानमा साबुनपानी व्यवस्थापन गर्न थालेका छन् । काठमाडौँ महानगरपालिकाले ठाउँठाउँमा स्यानेटाइजरको व्यवस्था गर्ने जनाएको छ ।
सरकारले सार्वजनिक सवारी साधन सञ्चालनको निर्णय गरेको झण्डै दुई साता पछि यातायात व्यवसायले सवारी साधन सञ्चालन गरेका थिए । त्यसो त गत सातादेखि नै सरकार लगानीको साझा यातायातसँगै मयूर यातायात, सुन्दर यातायात, संयुक्त यातायातलगायतका कम्पनीले सवारी चलाउन सुरु गरिसकेका थिए । सरकारले निर्णय गरे पनि यात्रु र चालकको स्वास्थ्यको सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै व्यवसायी महासङ्घको आह्वानमा अधिकांश कम्पनीले सवारी साधन सडकमा निकालेका थिएनन् ।
अहिलेका लागि मर्मत भएका सवारी साधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने महासङ्घले जनाएको छ । सरकारले साउन भर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्को जिल्लामा सवारी साधन चलाउन पाउने निर्णय गरेको छ । महासङ्घले सबै रुट खुल्ला गर्नुपर्ने यातायात व्यवस्था विभागमा भनिरहेका नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “कोह व्यक्ति नौबिसे आएर काठमाडौँ आउन नपाउने गर्नुहुँदैन ।”
यातायात व्यवस्था विभाग, व्यवसाय र मजदूरबीच यातायात श्रमिकको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउने सहमति भएको थियो । यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारको तर्फबाट कोष स्थापना गराउने सहमति भएको छ । त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानेटाइजर, पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको थियो । रासस
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
