• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कोरोना डरले सिंहदरबार प्रवेशमा रोक

अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैन


  • खुला नेपाल
  • बुधबार, साउन २१, २०७७
  • 12.1K
    SHARES

फाइल फोटो

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृह मन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भन्नुभयो, “अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैन तर सामान्य रुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्छ, त्यसमा रोक लगाएको हो ।”

दिनदिनै बढ्दै गएको कोरोना संक्रमणको जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको उहाँले जानकारी दिनुभयो । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ ।

अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उहाँले अनुरोध गर्नुभएको छ । प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको उहाँले प्रष्ट पार्नुभयो । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । मङ्गलबारमात्रै उपत्यकामा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण बढेपछि उपत्यका प्रवेशमा थप कडाइ गरिएको र स्वास्थ्य मापदण्ड लागू नगर्ने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्न थालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँले अटेर गर्नेलाई कैद सजायसम्म गर्ने चेतावनी दिनुभएको छ । रासस

प्रतिक्रिया