• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

भारतमा विमान दुर्घटनामा परी १८ को मृत्यु


  • खुला नेपाल
  • शनिबार, साउन २४, २०७७
  • 5.8K
    SHARES

कोझिकोड (रासस/पिटिआई) । भारतमा भएको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा परेको मलापुरम जिल्लाका जिल्ला अधिकारी के गोपाल कृष्णले बताउनुभयो ।शुरुमा १७ जनाको मृत्युको खबर आए पनि घाइतेमध्ये थप एकको पनि निधन भएको हो ।

मृतकमध्ये एक जनाबाहेक सवैको शव चिन्नै नसक्ने गरी जलेर नष्ट भएको घटनास्थल पुगेकाले जनाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ ।

घटनामा परी विमान चालक दीपक साथे र सहचालक अखिलेश कुमारको पनि मृत्यु भएको छ । विमानमा चालक दलका छ सदस्य र १८४ यात्रु थिए । घाइतेलाई उपचारका लागि क्यालिकट तथा मलापुरमका अस्पताल पुर्याइएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको महामारी फैलिएपछि संयुक्त अरब इमिरेट्स (यूएई)मा अलपत्र भारतीय नागरिकहरू स्वदेश ल्याउदै गर्दा विमान दुर्घटनामा परेको थियो । युएईको दुवईबाट शुक्रबार राति भारत आउँदै गरेको विमान अवतरण गर्ने बेलामा अत्यधिक बर्षाका कारण धावनमार्गबाट चिप्लीएर दुर्घटना भएको प्रारम्भिक विवरण दिइएको छ ।

वर्षाका कारण विमान चालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए भने दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको हो । दुर्घटना स्थानीय समयानुसार शुक्रबार बेलुका ७.४० मा भएको हो ।

सरकारी अधिकारीहरुले ठूलो वर्षा भइरहेका बेला विमान धावनमार्गमा ठोक्किएको र त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेर दुई टुक्रा भएको जनाएका छन् । दर्दनाक दुर्घटना भएको थाहा पाउनेवित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनामा प्रियजन गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया