काठमाडौं । विश्वामा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणले नेपालमा पनि अत्यन्त्रै प्रभावित भइसकेको छ । यतिबेलासम्म २३ हजारभन्दा बढी नेपाली कोरोना संक्रमित भएका छन् । पौने सय जनाको ज्यानै गइसक्यो । तर पनि स्वास्थ्यको न्यूनतम् मापदण्ड अपनाएको पाइँदैन ।
घरबाहिर निस्कँदा, दुई वा दुईभन्दा बढी व्यक्तिको भेटमा भौतिक दूरी कायम गर्नुपर्ने र माक्स अनिवार्य लगाउनु पर्नेमा त्यसलाई बेवास्ता गर्ने संख्या अझै बढी नै छ । अझै पनि झन्डै २८ प्रतिशतले मास्क प्रयोग नगर्ने एक अध्ययनले देखाएको छ । हिजो साउन २५ गते सार्वजनिक उक्त अध्ययनमा ७२ प्रतिशतले मात्रै घरबाहिर निस्कँदा मास्क प्रयोग गर्ने गरेको देखाएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विभिन्न माध्यमबाट स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाउन नागरिकलाई बारम्बार अनुरोध गरेको छ । तर बेवास्ता गर्नेको संख्यामा कमी आएको छैन । यसको प्रत्यक्ष उदाहरण हो, सरकारले मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । केही ठाउँका पटके अटेरीबाट जरिवानासमेत असुल गरिएको छ ।
सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो ।
अनुमति बिना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधन र करिब १९ हजार ४ सय यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।
यस्तै तोकिएको निर्देशनविपरीत हालसम्म सवारी चलाउने करिब १ लाख ३७ हजार दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई होल्ड गर्नाका साथै जोरबिजोर प्रणाली नमान्ने ५ हजार ३ सय सवारी साधनलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोभिड–१९ को बढ्दो सङ्क्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाइपूर्वक कारबाही गर्ने कार्य निरन्तर जारी रहेको जनाएको छ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रहसमेत गरेको छ ।
गृह मन्त्रालयले यातायातमा जोरबिजोर प्रणालीको पालना गर्ने, अनिवार्यरुपमा माक्सको प्रयोग गर्नेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सबैलाई निर्देशनसमेत दिएको छ ।रासस
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
