हरेक मानिसले आफ्नो सपना साकार पार्नका लागि खास लक्ष्य, उद्देश्य अनि गन्तव्य रोज्नुपर्छ । त्यही योजना अनुसार ठोस कार्यनीति बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहनुपर्छ । र त ढिला–चाँडो सफल होइन्छ । त्यही भएर होला– भगवान्ले पनि ‘तँ आँट्, म पु¥याउँछु’ भन्छन् रे । ठीक यही सूत्र अपनाइरहनुभएको छ उहाँले । नेपाली कलाकारिता क्षेत्रमा उदाएसँगै चम्किएर भारतीय सिने जगत् (बलिउड) मा समेत क्रमशः आफ्नो पकड जमाउन थाल्नुभएकी मोडल तथा अभिनेतृ कबिना महर्जन (रानी) को प्रसंग हो यो ।
काठमाडौंको नयाँ वानेश्वरमा जन्मनुभएकी कबिना सानैबाट नृत्य र अभिनयप्रति निकै रुचि राख्नुहुन्थ्यो । ‘त्यतिबेला म पुरानो वानेश्वरस्थित श्री अमर आदर्श माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययन गर्दैथिएँ, ट्युसन पढ्न भने बिजुलीबजार जान्थेँ ।
ट्युसन जाने बाटैमा डायमण्ड इन्स्टिच्युट थियो’ कबिना विगतको त्यो क्षण स्मरण गर्नुहुन्छ– ‘त्यहाँ दिइएको नृत्य, अभिनय प्रशिक्षण म दैनिकजसो बाटैबाट उभिएर भए पनि एकछिन हेर्ने गर्दथेँ ।’
यही धोकोले तानेर होला, एक दिन उहाँले आमासँग जिद्दी कस्नुभयो– ‘म पनि नृत्य र अभिनयको प्रशिक्षण लिन्छु ।’ कबिनाको त्यो माग स्वीकृत भयो । अन्ततः उहाँ पनि त्यहीँ प्रशिक्षण लिन थाल्नुभयो ।
सुरुमा ‘परालको आगो’ चलचित्रका निर्देशक प्रताप सुब्बासँग प्रशिक्षण लिँदा आफू उत्साहित भएको उहाँको मानसपटलमा अझै ताजा छ । त्यहाँ छ महिनाको प्रशिक्षण लिनुभएपछि स्कुल–कलेज तथा खुल्ला रूपमा हुने प्रतियोगितामा पनि सहभागी जनाउन थाल्नुभयो ।
एसएलसीसम्मको अध्ययन पूरा गर्दा त ४÷५ वटा विद्यालयमा नृत्य प्रशिक्षकको रूपमा नियुक्त हुनुभयो कबिना । यही अन्तरालमा उच्च शिक्षालाई अघि बढाउँदै र रोजगारी गर्दै उहाँ हरेक शनिवार ललितपुरको गोदावरीमा अवस्थित ‘आमा’ नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा पुगेर त्यहाँका बच्चालाई निःशुल्क नृत्य प्रशिक्षण दिने, घुमाउने पनि गर्न थाल्नुभयो ।
यो क्रम ६÷७ वर्षसम्म जारी रह्यो । त्यसैगरी कबिना ‘करी वीथआउट वरी’ नामक संस्थाको पनि कार्यकारी सदस्य बन्नुभयो । यद्यपि आफ्नो सानैदेखिको सपनालाई भने किनारा लगाउनुभएन, यो अवस्थासम्म आइपुग्दा कबिनाले ३५÷४० वटाजति नेपाली म्युजिक भिडियोमा आफ्नो कला प्रर्दशन गर्नुभएको छ– सफल मोडल र नायिकाको रूपमा ।
त्यसैको एउटा नमुना हो– ‘लाइछौ बेसन, चिन्न नि नसक्ने आइछ फेसन…’ बोलको गीतमा गर्नुभएको अभिनय । त्यस्तै केही चलचित्रमा पनि नायिकाको रूपमा अभिनय गर्नुभएको छ उहाँले । तर, विगत केही वर्षदेखि भने कबिना बलिउडका दर्शकको पनि प्रिय बन्नुभएको छ ।
‘६ वर्षअघि रेखा थापा र म सँगै मुम्बई घुम्न गएका थियौं, केही कार्यक्रममा सहभागी पनि भयौं’ उहाँ दावी गर्नुहुन्छ– ‘त्यहाँका दर्शक, कलाकार, निर्देशक, निर्माता सबैले मन पराए ।’
अझ गौरवको पक्ष त के हो भने कबिनाको मुख्य भूमिका रहेको हिन्दी कथानक चलचित्र ‘वान नाइट आउट’ बलिउडमा निकै चर्चित बन्यो । सत्यघटनामा आधारित रहस्यमय कथामा बनेको सो चलचित्रले ‘दादासाब फालके’ पुरस्कारसमेत पाएको छ । यो भनेको भारतमा पहिलो चलचित्र निर्माण गर्ने कम्पनीको नाममा दिइने उच्च सम्मानजनक पुरस्कार हो । यसले बलिउडको कलाकारिता क्षेत्रमा नेपाली कलाकार कबिनाको उचाइ र माग पनि ह्वात्तै बढाएको छ । र त समलिंगीको कथामा आधारित ‘उपेक्षा’ अनि सडक बालबालिकाको कथामा बन्ने चलचित्र ‘गान्धीचोक’मा पनि उहाँको अभिनय रहेको छ ।
- प्रस्तुतिः अस्मिता क्षेत्री
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य




