काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका चन्द्रागिरि नगरपालिकाले नगरभित्रका ५ हजार व्यक्तिको पीसीआर परीक्षण गर्ने भएको छ । यसका लागि नगरवासीको स्वाब लिन थालिने छ ।
पछिल्लो समय यस नगरमा पनि कोरोना भाइरस पोजेटिभको संख्या बढ्न थालेपछि नगरभित्रका खासगरी प्रभावित क्षेत्रका नागरिकहरुको स्वास्थ्य अवस्थालाई ध्यान दिई नगरले पीसीआर परीक्षण गर्न लागेको हो । यसका लागि नगरले बढी प्रभावित क्षेत्रका सर्वसाधारण, चोकहरुमा पसल व्यवसाय गर्नेहरुलाई प्राथमिकता दिएर स्वाब संकलन गरिने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।
यस पीसीआर परीक्षण प्रत्येक वडाका ३ सय व्यक्तिमा गरिने छ । जसअनुसार १५ वडाका गरेर ४५ सय र अन्य अत्यावश्यक व्यक्तिहरु ५ सयको गरी यो पटक ४५ सयमा पिसीआर परीक्षण गर्न लागेको जानकारी वडा नं. ११ का अध्यक्षसमेत रहनु भएका महर्जनले बताउनुभयो । ‘‘नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र जनप्रतिनिधिहरुको पीसीआर परीक्षण यसअघि नै गरिएको थियो,’ उनले भन्नु भयो, ‘त्यसमा पनि स्वास्थ्यकर्मीहरु बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने ब्यक्ति भएकाले उहाँहरुको पुनः परीक्षण गरिने छ ।’
त्यसो त नगरपालिकाले यस अघि नै नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पीसीआर परीक्षण एक पटक गरिसकेको छ । नगरपालिकाले गर्ने यस प्रकारको परीक्षण स्वयं नगरर नेपाल सरकारको खर्चमा गरिन लागेको जानकारी पनि प्रवक्ता महर्जनले दिनु भयो ।
नगरभित्रका सङ्क्रमित उपचारका लागि चन्द्रागिरि–१ दहचोकस्थित मनमोहन अस्पतालमा आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको छ । यही साताबाट सञ्चालनमा आउने उक्त आइसोलेशन सेन्टरको क्षमता २०० श्ययाको हुनेछ ।
त्यसो त यही नगरभित्र सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताललाई नेपाल सरकारले कोरोना उपचार अस्पतालको रुपमा विकास गरेको छ । यही अस्पतालको सहकार्यमा चन्द्रागिरिवासीको कोरोना परीक्षण यसअघि पन िगराइएको थियो । यस नगरभित्र हालसम्म ३४ जनाभन्दा बढीमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारीसमेत महर्जनले गराउनु भयो ।
यसअघि पनि नगरपालिकाले स्वास्थ्य सेवा विभागको सहकार्यमा नागढुङ्गाबाट काठमाडौं भित्रिने ६ हजारभन्दा बढी यात्रुको स्वाब संकलन गरी पीसीआर परीक्षण गराएको थियो ।
भदौ १५ सम्म अत्यावश्यक काममात्र हुने
नगरपालिकाभित्र पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या बढ्दै गएकाले भदौ १५ गतेसम्मलाई नगरपालिकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै स्थगित गरेको छ । नगरले साउन २९ गते सूचना जारी गरी नगरभित्रका अत्यावश्यकबाहेक सबै सेवा स्थगन गरेको जानकारी गराएको थियो ।
नगरले साउन २९ को उक्त निर्णयसँगै अब स्वास्थ्य सेवा, कोभिड–१९ नियन्त्रण र उपचार सेवा, विपद् व्यवस्थापन सेवा, सामाजिक सुरक्षा दर्ता तथा नवीकरण र पशु सेवामात्र प्रदान गर्ने छ ।
नगरपालिकाद्वारा जारी विज्ञप्ति यस्तो छः
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

