काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरका ३९ प्रयोगशालामा ११ हजार ५ सय २० जनाको पीसीआर गर्दा उक्त संख्याका संक्रमित भेटिएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २७ हजार ५ सय ४१ जना पुगेको छ ।
देशभर हाल विभिन्न जिल्लाका क्वारेन्टाइनहरुमा १५ हजार १ सय ९८ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिनुभएको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रम आइतबार पनि कायमै रहेको छ। काठमाडौं उपत्यकामा सोमबारमात्रै १६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौं जिल्लामा १३९ ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाउनु भयो ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६० जना कोरोना उपचारपछि घर फर्कन सफल हुनु भएको छ । योसँगै नेपाल कोरोना संक्रमणपछि सफल उपचार गरेर घर फर्कनेको संख्या १७ हजार ४ सय ९५ जना पुगेको छ । यो भनेको कुल संक्रमितको ६५ प्रतिशतलाई निको भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण आइतबार पनि ३ जनाको दुखद निधन भएको मन्त्रालयले घोषणा गरेको छ । उहाँहरुमध्ये रौतहट जिल्लाका ३२ वर्षीय पुरुष हुनुहुन्छ । यस्तै मोरङ जिल्लाका पनि ६० वर्षीय पुरुष हुनुहुन्छ भने काठमााडैंकी ५८ वर्षीया महिलाको पनि कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । योसहित कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेहरुको संख्या अब नेपाल १०७ पुगेको छ । जसमा २४ जना महिला र ८३ जना पुरुषको निधन भएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
